Thursday, August 4, 2016

दोलखा स्वास्थ्य कार्यालयद्वारा स्तनपान सप्ताहको बजेट भ्रमण र भतेरमा खर्च

रवीन्द्र गौतम । दोलखा

साउन २०, दोलखा । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले विश्व स्तनपान सप्ताहको लागि बजेट छैन भन्दै लाखौं खर्च गर्दै आइरहेको तथ्य खुल्न आएको छ ।
    विश्व स्तनपान सप्ताहको लागि सरकारी बजेट शून्य रहेको भनिए पनि जिल्लाका विभिन्न स्थानहरुमा तामझामका साथ स्तनपान सप्ताह मनाइरहेको तथ्य खुल्न आइरहेको हो । जिल्लामा नवजात शिशु र सुत्केरी आमाको लागि खासै कुनै सहयोग नगरिएको भए पनि भ्रमण र भतेरमा भने लाखौं खर्च भएको जिल्ला स्वास्थ्य स्रोतले जनाएको छ ।
    विश्व स्तनपान सप्ताहको लागि जिल्लामा कुनै पनि बजेट नभएको जनाउँदै जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख डा.राजेन्द्रप्रसाद शाहले भने ‘स्तनपान सप्ताह मनाउन नाम्दु जाँदैछु ।’ स्रोतकाअनुसार नाम्दुमा सप्ताह मनाउनको लागि ठूलै तामझाम र भतेरको व्यवस्था गरिएको छ । सप्ताह मनाउनकै लागि आधा दर्जन सवारी साधन सहित देशी विदेशी गैरसरकारी संस्थाका प्रतिनिधि, सरकारी कर्मचारीहरु समेत नाम्दु पुगेको स्रोतले जनाएको छ ।