Tuesday, August 2, 2016

सिन्धु विकास बैंकको ११ औं शाखा चरिकोटमा

रवीन्द्र गौतम । दोलखा

साउन १८, दोलखा । सिन्धुपाल्चोक जिल्लालाई आधार बनाई कारोबार गरिरहेको सिन्धु विकास बैंकले आफ्नो ११ औं शाखा सदरमुकाम चरिकोटमा सुरु गरेको छ ।
        आज मंगलबार बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले रिवन काटेर शाखाको समुद्घाटन गरेका हुन् । यो सहित दोलखामा बैंकको संख्या १५ पुगेको छ । कर्जामा आकर्षक ८ प्रतिशत मात्र व्याजमा कारोबार गर्ने महत्वकाँक्षी
योजना समेत उद्घाटनको क्रममा सार्वजनिक गरिएको छ । उद्घाटनको अवसरमा खाता खोली रु ५ हजारसम्म बचत गर्ने ग्राहकलाई एक थान भित्ते घडी समेत उपहार प्रदान गरेको चरिकोट शाखा प्रवन्धक पुष्कर जिसीले जानकारी दिए ।
       सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा केन्द्रीय कार्यालय रहेको बैंकको मेलम्ची, खाडीचौर, मुडे, सुकुटे काभे्रपलाञ्चोक जिल्लाको बनेपा, पाँचखाल र दोलालघाट, सिन्धुलीको भकुण्डेबेसीमा समेत शाखा रहेको जनाइएको छ । हाल चुक्ता पूँजी साढे १२ करोड रहेकोमा हकप्रद सेयर जारी कार्य सकिने वित्तिकै रु. २५ करोड चुक्ता पूँजी पुग्ने प्रवन्धक जिसीले जानकारी दिए ।
         हायर पर्चेज कर्जामा अत्यधिक लगानी गरेर ख्याती कमाएको बैंकले चरिकोटमा शाखा खोलेको दिन सवारी साधन कर्जामा आकर्षित भएकाहरुले सबैभन्दा बढि खाता खोलेको सिन्धु विकास बैंक चरिकोटले जनाएको छ । मंगलबार मात्र शाखामा करिब १ सय ५० जनाले खाता खोल्दा करिब १८ लाख निक्षेप संकलन भएको शाखा प्रवन्धक जिसीले जानकारी दिए ।