Saturday, August 13, 2016

दोलखामा कामदारको ज्याला ८७ र ढुवानीदर ९१ प्रतिशतले बढ्यो

रवीन्द्र गौतम । दोलखा

साउन ३०, दोलखा । जिल्लाको स्थानीयस्तरमा उपलब्ध हुने श्रमसीपको स्तर, श्रमिकको उमेर र दैनिक काम गर्ने अवधिलाई आधार मानेर कामदारको ज्यालामा ८७ र ढुवानीदरमा ९१ प्रतिशतसम्म वृद्धि गरी लागू गरिएको छ । 
           आर्थिक वर्ष २०७३÷०७४ को प्रयोजनको लागि मूल्य अभिबृद्धि कर बाहेक यसअघि प्रतिदिन ८ घण्टाको ज्याला ६ सय ४० रहेकोमा बृद्धि गरी ७ सय ३५ पुगेको छ भने ट्रकद्वारा ५० किलोमिटरसम्मको प्रतिकेजी ढुवानी दर मूल्य अभिवृद्धि करबाहेक १८ रुपैयाँ १५ पैसा रहेकोमा बृद्धि गरेर रु. २० निर्धारण गरिएको हो ।
     सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ अनुसार जिल्ला दररेट निर्धारण समितिको साउन ११ गते बसेको बैठकले आव २०७३÷०७४ का लागि विभिन्न सेवाहरुको ज्याला र ढुवानीदरमा सो बराबरको वृद्धि गरेको हो । समितिले कामदारको ज्यालादर, ढुवानी दर, निर्माण सामग्री र ढुवानीको दररेट, सरकारी कार्यालयमा आवश्यक मालसमानको दर र मेशिन तथा उपकरणको भाडा

सम्वन्धि निर्णय गरेको हो ।
      समितिको बैठकले निर्धारण गरेको ज्यालादरमा ४ देखि ५ हजार मिटर उचाईसम्म (सडक यातायात नभएको स्थानमा)को ज्यालादरमा ५० प्रतिशत र ५ हजार मिटरभन्दा माथि उचाईका लागि श्रमिक ज्यालामा शतप्रतिशत थप गर्ने निर्णय गरेको छ ।  दक्ष कामदार अन्तरगत १७ उपशीर्षक, अदक्ष कामदार अन्तरगत १० उपशीर्षक, सुरक्षा सम्वन्धी कामदार अन्तरगत ४ उपशीर्षक, हेल्पर, अपरेटर अन्तरगत ६ उपशीर्षक, ड्राइभर अन्तरगत ३ उपशीर्षक, सुपरभाइजर अन्तरगत ५ उपशीर्षक र अन्य कामदार अन्तरगत १७ उपशीर्षकमा ज्यालादर र ढुवानी दर परिवर्तन गरिएको छ ।
   ढुवानी दर सम्वन्धमा मानियस (भरिया)द्वारा ढुवानी गर्दा सजिलो सामानलाई प्रतिकेजी प्रतिकिलोमिटर ९५ पैसा, असजिलो सामानालाई प्रतिकेजी प्रतिकिलोमिटर १ रुपैयाँ १० पैसा, अतिअसजिलो सामानलाई प्रतिकेजी प्रतिकिलोमिटर १ रुपैयाँ २० पैसा लागू गर्ने निर्णय गरेको छ । लोड र अनलोड गर्दा सजिलो सामानलाई प्रतिक्वीन्टल रु. ४०, असजिलो सामानलाई प्रतिक्वीन्टल रु. ७५ र अतिअसजिलो सामानलाई प्रतिक्वीन्टल रु. १०० निर्धारण गर्ने निर्णय गरिएको छ ।
    सरकारी कार्यालयमा आवश्यक पर्ने मालसामान सम्वन्धी गरिएको निर्णयमा अधिकाँस सामग्रीको दर बढाइएको छ भने अलैंचीको विरुवाको रु. १० बाट रु. ८ मा घटाउने निर्णय गरिएको छ भने किवीफलको विरुवाको पनि रु. ५ सय ७ बाट रु. २ सयमा घटाउने निर्णय गरिएको छ । एभोकाडो फलको विरुवामा भने १ सय २७ बाट १ सय ४० गरी १३ रुपैयाँ बढाउने निर्णय गरिएको छ । समितिको बैठकले घाँसको विउ र जीवित पशुको तौलअनुसारको नयाँ मूल्य समेत निर्धारण गरेको छ ।