Tuesday, May 23, 2017

दोलखामा डेढ सय शिक्षकको दरबन्दी खाली हुँदै


रवीन्द्र गौतम । दोलखा

जेठ १०, दोलखा । आगामी केही दिनमा दोलखा जिल्लामा डेढ सय शिक्षकको दरबन्दी खाली हुने भएको छ । शिक्षक सेवा आयोगले लामो समयदेखि अस्थायी शिक्षकमा कार्यरतहरुको हकमा प्रस्ताव गरेको ‘गोल्डेन ह्याण्डसेक’ उपदानको लागि दोलखा जिल्लामा निवेदन दिएकाहरुबाट डेढ सय शिक्षकको दरबन्दी खाली हुने भएको हो ।
          लामो समयदेखि अस्थायी रुपमा कार्यरत शिक्षकहरुको लागि २०७३ चैतमा २ प्रकारमध्ये एकप्रकारको सुविधा छान्न पाउने अवसर दिएर सूचना प्रकाशित गरेपछि ‘गोल्डेन ह्याण्डसेक’ उपदानको सुविधा रोज्ने शिक्षकहरुबाट डेढ सय दरबन्दी खाली हुने भएको हो । सेवा अवधिको विभिन्न सुविधाहरु जोडेर एकमुष्ट उपदान लिनको लागि प्रावि, निमावि र मावि तहका १ सय ४७ शिक्षकहरुको निवेदन दर्ता भएको दोलखाका जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछवाले जानकारी दिए ।
           प्राथमिक तहका १ सय २४, निम्न माध्यमिक तहको विभिन्न ५ विषयका १०, माध्यमिक तहको विभिन्न ५ विषयका १३ जना गरी १ सय ४७ जनाले उपदानको लागि निवेदन दर्ता गराएको जिल्ला शिक्षा अधिकारी कासिछवाले जनाए । उपदानको लागि दर्ता गराएको निवेदनअनुसार दोलखामा निम्न माध्यमिक तहको नेपालीको २, अंग्रेजीको ३, विज्ञानको १, गणितको २, सामाजिकको २ गरी १० दरबन्दी खालि हुने भएको छ भने माध्यमिक तहको नेपालीको ४, अंगेजीको २, विज्ञानको २ गणितको ४ र सामाजिक विषयको १ गरी कूल १३ दरबन्दी खाली हुने भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।
           उपदानको लागि शिक्षक सेवा आयोगले मापदण्ड समेत सार्वजनिक गरिसकेको छ । अस्थायी शिक्षकमा निरन्तर कार्यरत रहेको ५ वर्ष सेवा पुरा भएकालाई अन्तिम महिना पाएको तलबको आधा महिना बराबरको, १० वर्ष सेवा पुरा भएकालाई अन्तिम महिना पाएको तलबको एकमहिना बराबरको र १५ वर्षभन्दा माथि सेवा अवधि पुरा गरेकाहरुको हकमा भने डेढ महिना बराबरको तलबलाई गुणान गरेर आउने रकम उपदानको रुपमा भुक्तानी गरिने व्यवस्था रहेको जिशिअ काशिछवाले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिनको लागि राजिनामा दिएकाहरुको दरबन्दी समेत खाली हुँदा १ सय ६० भन्दा बढि दरबन्दी खाली हुने अवस्था रहेको जिशिअ काशिछवाले बताए ।
          शिक्षा ऐन, २०२८ (आठौं संशोधन) को दफा ११च. (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (१), (२) र (३) मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरुमा रिक्त रहेको शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न गत चैतमा दरखास्त आह्वान गरिएको थियो ।

Monday, May 22, 2017

दोलखाको ८ विभिन्न पालिकामा करिब १३ प्रतिशत मत बदर


रवीन्द्र गौतम । दोलखा

जेठ ८, दोलखा । स्थानीय तहको निर्वाचन २०७४ मा दोलखामा खसेको कूल मत संख्यामध्ये १२ दशमलब ८७ प्रतिशत मत बदर भएको पाइएको छ ।
           जिल्लाको कूल मतदाताहरुमध्ये मेलुङ गाउँपालिका बाहेक खसेको ७० दशमलब ७२ प्रतिशत मतमध्ये १२ दशमलब ८७ प्रतिशत मत बदर भएको पाइएको हो । २ नगरपालिका र ६ गाउँपालिकामा करिब ९४ हजार ३ सय मत खसेको मध्ये १२ हजार मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । बदर मतको यो प्रतिशतले दोलखा जिल्लामा मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितमाथि ठूलो प्रश्न चिन्ह खडा भएको विश्लेषकहरुले जनाएका छन् ।
           जिल्लामा सबैभन्दा बढि विगु गाउँपालिकामा १७ दशमलब १९ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम वैत्यश्वर गाउँपालिकामा ७ दशमलब ९३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दोलखाका कार्यालय प्रमुख सच्युतराज उप्रेतीले जानकारी दिए ।
           जिल्लाका भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा पनि उल्लेख्य मात्रामा मत बदर भएको पाइएको छ । भीमेश्वर नगरपालिकामा १४ दशमलब ३१ प्रतिशत र जिरी नगरपालिकामा १३ दशमलब २८ प्रतिशत मत बदर भएको पाइएको छ । तामाकोशी र वैत्यश्वर गाउँपालिका बाहेक अन्य ६ ओटा पालिकाको मत बदरको प्रतिशत दोहोरो अंकमा रहनुले दल र निर्वाचन कार्यालयको गैर जिम्मेवारी प्रष्ट भएको विश्लेषकहरुको आरोप छ । बैत्यश्वर गाउँपालिकामा सबैभन्दा बढि ८७ दशमलब ८८ प्रतिशत र शैलुङ गाउँपालिकामा सबैभन्दा कम ६१ दशमलब ४१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

मेलुङ गाउँपालिकाको रोकिएको मतगणना ९ गतेबाट हुने


रवीन्द्र गौतम । दोलखा

जेठ ८, दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा मतपेटिका राखिएको कोठाको ढोका खुल्ला भेटिएपछि उठेको विवादको कारण रोकिएको मतगणना ९ गतेबाट हुने भएको छ ।
          सोमबार दिनभर सोही विषयमा व्यापक छलफल पछि अनुभवी टोली मगाएर एकसाथ २–३ टोलीले मतगणना गर्ने सहमति पछि ९ गते मंगलबार बिहान ७ बजेबाट मतगणना गरिने भएको हो । ७ ओटा वडा रहेको मेलुङ गाउँपालिकाको १८ ओटा मतपेटिका मंगलबार बिहानबाट गणना गरिने सहमति भएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
            मेलुङ गाउँपालिका अन्र्तगत साविकको भेड्पु गाविसको कार्यलयमा संकलन गरि राखिएको मतपेटिका रहेको कोठाको ढोका खुल्ला भेटिएपछि समस्या भएको हो । कोठाको मुख्य ढोकामा शिलवन्दी गरिएपनि निर्वाचन अधिकृतको कोठाबाट मतपेटिका राखिएको कोठामा जाने भित्री ढोका रहेको र सो ढोका खुल्ला अवस्थामा भेटिएपछि विवाद भएको हो । कंग्रेस र माओवादी केन्द्रले मतपेटिका राखिएको कोठाको ढोका खुल्ला रहनु शंकास्पद भएको भन्दै मतगणना अघि बढाउन मानेका छैनन् । सोही कारण गएरातिबाटै सुरु हुने भनिएको मेलुङ गाउँपालिकाको मतगणना कार्य अझै अघि बढ्न सकेको छैन । कंग्रेस माओवादी संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवार बनेका वर्मा लामाले मतपेटिका रहेको कोठाको ढोका खुल्ला रहनु शंकास्पद रहेको र सो विषयमा छानविन भएपछि मात्रै मतगणना अघि बढ्ने जानकारी दिनुभयो ।
            मतगणना अघि बढाउने विषयमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायधिश राजेन्द्र नेपाल र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा सहितको टोली मेलुङ तर्फ प्रस्थान गरेको छ । बैशाख ३१ गते प्रहरीले चलाएको गोली लागेर पवटीमा एक जनाको मृत्यु भई मतदान स्थगित भएपछि मेलुङ गाउँपालिकाको मतगणना हुन सकेको थिएन । हिजो पवटी मतदान केन्द्रको पुनः मतदान सम्पन्न भएपनि मतगणना अघि बढाउन नयाँ समस्या पैदा भएको हो ।

Sunday, May 21, 2017

माथिल्लो तामाकोशी आयोजनामा अर्को पनि ११० मिटरको ‘रोड टनेल’


रवीन्द्र गौतम । दोलखा

बैशाख ८, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको माथिल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्ने अर्को ‘रोड टनेल’ निर्माण गरिरहेको छ ।
              माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्ने अर्को ‘रोड टनेल’ करिब २ महिना अघिबाट निर्माण सुरु गरेको हो । आयोजनाले निर्माण गरेको यो दोस्रो ‘रोड टनेल’ हो । आयोजनाले गत भदौमा पहुँचमार्ग भत्किएर अबरुद्ध भएको माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्म पुग्न १ सय १० मिटर लामो अर्को ‘रोड टनेल’को निर्माण सुरु गरेको जनाएको छ ।
            आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले काब्रेभिरबाट २५ मिटर स्क्वाएर डायमिटरको १ सय १० मिटर लामो सुरुङमध्ये १ सय २ मिटर अर्को ‘रोड टनेल’ निर्माण सम्पन्न गरिसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । ‘१० मिटर अग्लो समतल स्थलसम्ममा सडक पु¥याउन अर्को ‘रोड टनेल’को निर्माण गर्नु परेको’ प्रवक्ता डा. न्यौपानेले बताए । यहि हप्ताभित्र ब्रेक थ्रु हुने गरी सिनो हाइड्रोले निर्माण कार्य अघि बढाइरहेको प्रवक्ता डा.न्यौपानले जनाए ।
            लट–१ को मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोको एक लेखा अधिकृतका अनुसार रोड टनेल निर्माण सम्पन्न गर्न करिब रु. डेढ करोड खर्च भएको छ । प्रवेशमार्ग अभावमा आयोजनाको पानीको प्रेसर थेग्ने माथिल्लो तथा तल्लो ठाडो सुरुङ र सर्ज साफ्टासम्मका विभिन्न कार्यहरु रोकिएको थियो । हालसम्म ८८ प्रतिशत निर्माण सम्पन्न भएको दोलखाको लामाबगरमा निर्माणाधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले नयाँ सार्वजनिक गरेको तालिकाभन्दा अघि विद्युत् उत्पादन हुने संकेत देखिएको आयोजना सम्वद्ध कर्मचारीहरु बताउँछन ।

Thursday, May 18, 2017

पवटीमा मारिएका भुजेल शहीद घोषणा, राहतस्वरुप १० लाख दिइने


जेठ ४, दोलखा । स्थानीय तहको निर्वाचनमा दोलखाको पवटीमा मारिएका डम्बरबहादुर भुजेललाई सरकारले शहीद घोषणा गर्दै राहत दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
        बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पवटीमा प्रहरीको गोली लागि मृत्यु भएका डम्बरबहादुर भुजेललाई शहीद घोषणा गर्दै राहत दिने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिनुभयो ।
            बुथ जोगाउने क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भुजेलको परिवारलाई १० लाख रुपैयाँ राहत दिने, श्रीमती लक्ष्मी भुजेललाई संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत रोजगारी दिइने, मृतकका २ छोरा र २ छोरीलाई शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बोहोराले जानकारी दिएका छन् । सरकारले भुजेललाई शहीद घोषणा गरेसँगै परिवारले शब बुझ्ने नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिनुभयो ।
         यसैगरी चुनाव प्रचारको क्रममा जुँगुमा मारिएका कुलबहादुर तामाङलाई पनि राहत रकम दिने निर्णय गरेको छ । सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका तामाङको परिवारलाई १० लाख रुपैयाँ राहत दिने र मृतकका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बोहोराल जानकारी दिनुभयो ।

दोलखाको मेलुङ गाउँपालिका–१, पवटीको निर्वाचन जेठ ७ गते हुने

रवीन्द्र गौतम । दोलखा

जेठ ४, दोलखा । बुथ कब्जा गर्न आएको भन्दै प्रहरीले हानेको गोली लागेर एकजनाको मृत्यु भए पछि स्थगित भएको मेलुङ गाउँपालिका वडा नं. १, पवटीको निर्वाचन जेठ ७ गते हुने भएको छ ।
   निर्वाचन आयोग, स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, उम्मेदवार लगायतसँगको समन्वयमा निर्वाचन अधिकृतको कार्यालय मेलुङले जेठ ७ गते पुन निर्वाचन गराउने भएको हो ।
             मेलुङ गाउँपालिका वडा नं. १, पवटी अन्र्तगत सत्यश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मा जेठ ७ गते आइतबारको दिन विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म पुन निर्वाचन गराउने निर्णय भएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले जानकारी दिनुभयो । सत्यश्वर मावि पवटीको ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मतदान केन्द्रमा ३ हजार ५ सय ८६ मतदाताहरु रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

Wednesday, May 17, 2017

वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छवि लामा र उपाध्यक्षमा माओवादीका रविचन्द्र आचार्य विजयी

रवीन्द्र गौतम । दोलखा

जेठ ३, दोलखा । वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा काँगे्रसका छवि लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
  अध्यक्षमा लामाले एमालेका ऋषिकेशव उप्रेतीले भन्दा २१५०मत बढि प्राप्त गरेर विजयी हुन सफल हुनुभएको हो । लामाले ७१७९ मत प्राप्त गर्नुभएको थियो भने उप्रेतीले ५०२९ मत प्राप्त गर्नुभएको  निर्वाचन कार्यालयले जनाएको छ ।
         उपाध्यक्षमा आचार्यले एमालेकी शान्तिकुमारी तामाङलेभन्दा ३१०९ मतले पछि पारेर विजयी हुन सफल हुनुभएको हो । आचार्यले ७५५२ मत प्राप्त गर्नुभएको थियो भने तामाङले ४४४३ मत प्राप्त गर्नुभएको दोलखाका मुख्य निर्वाच अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।
यसअघि जिरी नगरपालिकाको प्रमुखमा एमालेबाट टंक जिरेल विजयी हुनुभएको छ भने उपप्रमुखमा कृष्णकुमारी बुढाथोकी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
   प्रमुखमा जिरेलले माओवादी केन्द्रका निकतम प्रतिद्वन्दी गेल्बु शेर्पाभन्दा ११०६ मतले पछि पारेर विजयी हुन सफल हुनुभएको हो । जिरेलले ३२१२ मत प्राप्त गर्नुभएको थियो भने गेल्बु शेर्पाले २१०६ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसका उम्मेदवार सोनाम शेर्पाले १४०२ मत मात्र प्राप्त गरेका थिए ।
   उपप्रमुखमा बुढाथोकीले माओवादी केन्द्रकी चित्रमाया दाहालभन्दा १३२७ मतले पछि पारेर विजयी हुन सफल हुनुभएको हो । बुढाथाकीले ३२६८ मत प्राप्त गर्नुभएको थियो भने चित्रमाया दाहालले १९४१ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसकी लिलादेवी जिरेलले १३१२ मत प्राप्त गर्नुभएको दोलखाका मुख्य निर्वाच अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

Tuesday, May 16, 2017

जिरी नगरपालिकाको प्रमुखमा टंक जिरेल र उपप्रमुखमा कृष्णकुमारी बुढाथोकी विजयी

Add caption
दोलखामा २२ ओटा वडाको मत परिणाम सार्वजनिक,
काँग्रेस ६, एमाले ८, माओवादी ८ ओटा वडाध्यक्षमा विजयी

रवीन्द्र गौतम । दोलखा

जेठ ३, दोलखा ।जिरी नगरपालिकाको प्रमुखमा एमालेबाट टंक जिरेल विजयी हुनुभएको छ भने उपप्रमुखमा कृष्णकुमारी बुढाथोकी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
     प्रमुखमा जिरेलले माओवादी केन्द्रका निकतम प्रतिद्वन्दी गेल्बु शेर्पाभन्दा ११०६ मतले पछि पारेर विजयी हुन सफल हुनुभएको हो । जिरेलले ३२१२ मत प्राप्त गर्नुभएको थियो भने गेल्बु शेर्पाले २१०६ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसका उम्मेदवार सोनाम शेर्पाले १४०२ मत मात्र प्राप्त गरेका थिए ।
  उपप्रमुखमा बुढाथोकीले माओवादी केन्द्रकी चित्रमाया दाहालभन्दा १३२७ मतले पछि पारेर विजयी हुन सफल हुनुभएको हो । बुढाथाकीले ३२६८ मत प्राप्त गर्नुभएको थियो भने चित्रमाया दाहालले १९४१ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसकी लिलादेवी जिरेलले १३१२ मत प्राप्त गर्नुभएको दोलखाका मुख्य निर्वाच अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।
          दोलखाका बिभिन्न गाउाँपलिका र नगरका वडाहरुमा नेपाली कांग्रेसले ६ स्थानमा वडा अध्यक्षहरु बिजय प्राप्त गरेको छ भने एमालेबाट ८ स्थान र माओबादीबाट पनि ८ स्थानको वडाध्यक्ष बिजयी भएको मुख्य निर्बाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । 
         भीमेश्वर नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसबाट विराजमन श्रेष्ठले विजय प्राप्त गरेका छन् । नेपाली कांग्रेसले तामाकोशी गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष सहित प्यानल नै बिजयी भएको छ । वडा अध्यक्षमा हर्कबहादुर योञ्जन बिजयी भएका छन् । बिजयी हर्कबहादुरको ६२४ मत प्राप्त भएको छ । भने एमाले उम्मेद्धार नरबहादुर कार्कीको ५२० मत प्राप्त भएको छ । योञ्जन सहित महिला सदस्यमा सरस्वति कार्की, दलित महिला सदस्यमा तारा बिक, खुल्ला सदस्यमा ओमबहादुर केसी र नानीकाजी तमाङ बिजयी भएका छन् ।
         त्यस्तै गाउँपालिका प्रमुखमा भबेन्द्र कार्कीको मत ६६३, ईश्वरचन्द्र पोखरेलको४६०,उपप्रमुख रामचन्द्र पोखरेल माओबादीको ५२५ र उपप्रमुख एमालेको ४९४ रहेको छ ।यस अघि नै गनिएको मतबाट नेपाली कांग्रेसका उम्मेद्धार तामाकोशी १ बाट महेश काफ्ले बिजयी भएका छन् । काफ्ले ज्ञानेन्द्र केसीलाई हराएका छन् ।

दोलखाको विभिन्न गाउँ तथा नगरपालिकामध्ये १५ ओटा वडाको मत परिणाम सार्वजनिक (नामावली सहित)

एमालेबाट ६, माओवादीबाट ६, काँग्रेसबाट ३ वडाध्यक्षमा विजयी

रवीन्द्र गौतम । दोलखा

जेठ २, दोलखा । स्थानीय तहको निर्वाचन २०७४ को बैशाख ३१ गते सम्पन्न निर्वाचनको दोलखा जिल्लाको विभिन्न स्थानहरुबाट मत परिणाम प्राप्त हुने क्रममा रहेको छ ।
         पछिल्लो मत परिणाम अनुसार जिरी नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ बाट विजयी हुनेहरुको नामावली प्रकाशन भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
         दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिरी नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवारहरुको प्यानल नै विजयी भएका छन् । वडा नं. १ को वडाध्यक्षमा लाक्पा शेर्पा, खुला सदस्यहरुमा भक्तबहादुर खड्का, सन फिन्जु शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लिलामाया विक विजयी हुनुभएको छ । त्यसै गरी जिरी नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट ङिमापाल्दे शेर्पा, खुला सदस्यमा आङङिमा शेर्पा र पूर्णबहादुर खत्री, महिला सदस्यमा शान्ति कार्की र दलित महिला सदस्यमा निर्मला विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । जिरी नगरपालिका वडा नं. ३ मा एमालेको प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा नुर्बु शेर्पा, सदस्यमा मिङमर शेर्पा, युवराज बस्नेत, महिलामा मञ्जु कार्की खड्का, दलित महिला सदस्यमा किष्णमाया दमिनि विजयी भएका छन् । यसै गरी जिरी नगरपालिका वडा नं. ४ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा पदेमान जिरेल, सदस्यमा कृष्णबहादुर कार्की, शिवबहादुर कार्की, महिला सदस्यमा रश्मिला राई जिरेल रहेका छन् । त्यसै गरी जिरी नगरपालिका वडा नं. ५ को अध्यक्षमा माओवादी केन्द्रबाट अध्यक्ष ङिमा साङ्गे शेर्पा र अन्य सदस्यमा एमालेको तर्फबाट नरबहादुर जिरेल, रामबहादुर जिरेल, महिला सदस्यमा चिनिमाया जिरेल शेर्पा र दलित महिला सदस्यमा देवकी विक विजयी भएका छन् । यसै गरी जिरी नगरपालिका वडा नं. ६ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा गोपाल कार्की, सदस्यमा प्रकाश जिरेल, लिलाबहादुर जिरेल, महिला सदस्यमा मनमाया र दलित महिला सदस्यमा तारादेवी विश्वकर्मा रहेका छन् ।  
भीमेश्वर नगरपालिका वडा नं. १ मा एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा विरबहादुर थामी, सदस्यमा तिलकबहादुर थामी, मुरारिराज शिवाकोटी, महिला सदस्यमा गौरी थामी, दलित महिला सदस्यमा कल्पना खाती विजयी भएका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा बाबुलाल थामी, सदस्यमा अकलबहादुर तामाङ, डम्बरबहादुर तामाङ, महिला सदस्यमा करुणा थामी, दलित महिला सदस्यमा फुलमाया विक विजयी भएका छन् ।
विगु गाउँपालिका वडा नं. १ र २ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएका छन् जसमा वडा नं. १ को अध्यक्षमा हिरन्डेबहादुर गुरुङ, सदस्यमा जितविर तामाङ, रामबहादुर तामाङ, महिला सदस्यमा माया तामाङ, दलित महिला सदस्यमा बाटुली कामी विजयी भएका छन् भने वडा नं. २ को वडाध्यक्षमा कृष्ण ठकुरी, सदस्यमा डिलबहादुर तामाङ, मुक्तिराम तामाङ, महिला सदस्यमा लुङमाया तामाङ र दलित महिला सदस्यमा, टलमाया कामी विजयी भएका छन् ।
त्यसै गरी गौरीशंक गाउँपालिका वडा नं. १ मा एमालेका प्यानल नै विजयी भएका छन जसको वडाध्यक्षमा झलक कुमार कार्की, सदस्यमा गोरे तामाङ, पूर्णबहादुर जिरेल, महिला सदस्यमा पेमा जिरेल, दलित महिला सदस्यमा लिलामाया सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी वैत्यश्वर गाउँपालिका वडा नं. ८ पनि नेपाली काँग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवारहरु विजयी भएको कार्यालयले जनाएको छ । जसमा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा रमेश कुमार अधिकारी, नेपाली काँग्रेसको तर्फबाट खुला सदस्यमा डिल्लीराज श्रेष्ठ, देवराज खत्री, महिला सदस्यमा माओवादी केन्द्रको तर्फबाट लाटीकान्छी बस्नेत र दलित महिला सदस्यमा नेपाली काँग्रेसकी रुद्रमाया दाश विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
         त्यसै गरी जिरी नगरपालिकाको प्रमुखमा एमालेको तर्फबाट टंक जिरेल अग्रस्थानमा रहेका बुझिएको छ । त्यसैगरी वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका ऋषिकेस उप्रेती अग्रस्थान हुनुहुन्छ भने तामाकोशी गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसका भवेन्द्र कार्की अग्रस्थानमा हुनुहुन्छ । त्यसै गरी शैलुङ गाउँपालिकाको मतगणना मंगलबार विहान ८ बजेबाट सुरु गरिए पनि कुनै पनि परिणाम सार्वजनिक गरिएको छैन । कालिञ्चोक गाउँपालिकामा संयुक्त प्यानलले अग्रता लिएको जानकारी प्राप्त भएको छ भने विगु गाउँपालिकामा पनि मतगणना जारी रहेको बताइएको छ ।

Friday, May 12, 2017

एमाले दोलखाका कार्यकर्ताले लखेटे वडा अध्यक्षका उम्मेदवार सहित २९ जना, युवा संघ दोलखाका अध्यक्ष सहित १२ जना विरुद्ध उजुरी


रवीन्द्र गौतम । दोलखा

बैशाख २९, दोलखा । उत्तरी दुर्गम गौरीशंकर गाउँपालिका वडा नं. ७, मार्बुबाट एमालेका कार्यकर्ताबाट वडा अध्यक्षका उम्मेदवार सहित २९ जना लखेटिएका छन् ।
         गौरीशंकर गाउँपालिका वडा नं ७ मार्वुका नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार सोनाम शेर्पा, महिला वडा सदस्यका उम्मेदवार निमलेकी शेर्पा र खुल्ला वडा सदस्यका उम्मेदवार आङदोर्जी शेर्पा सहित २९ जना नेकपा एमालेका कार्यकर्ताहरुबाट लखेटिएका हुन् । लखेटिएका मध्ये ४ जना सदरमुकाम चरिकोट आइपुगेका छन् भने २५ जना सिंगटीमा सुरक्षित रहेको वडाध्यक्षको उम्मेदवार सोनाम शेर्पाले जानकारी दिएका छन् ।
         स्थानीय तहको चुनावमा शान्ति सुरक्षा पाउँ भन्दै उम्मेदवारहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा शुक्रबार उजुरी दर्ता गरेका छन् । नेकपा एमालेले १०० भन्दा बढी भाडाका गुण्डा गाउँमा भित्र्याई आफूहरुलाई गाउँ छाड्न धम्की दिएकोले ज्यानको सुरक्षा र शान्तिपूर्ण निर्वाचनको माग गर्दै उजुरी दिएको उनीहरुको दावी छ ।
        मार्वुमा नेकपा एमालेका विभिन्न ब्यक्तिहरुले भाला, खुकुरी, तरवार, पेस्तोल बोकी घर घरमा गएर मतदातालाई धम्क्याउँदै मतदाता परिचय पत्र लिनबाट समेत वञ्चित गरेको उनीहरुको आरोप छ । आफूहरुलाई ज्यानको असुरक्षा रहेको भन्दै उनीहरुले युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङ, बागविर शेर्पा, सोमफुर्वा शेर्पा, कामदोर्जी शेर्पा, फुरलाक्पा शेर्पा, आङदोर्जी शेर्पा रिज्जी, नानी गुरुङ, मिङमा शेर्पा, रुपक गुरुङ, दोमसार्की शेर्पा, कुमार गुरुङ, मोहन विक्रम आचार्य सहित १२ जना विरुद्ध जिल्ला प्रशानमा किटानी साथ उजुरी दिएका छन् । 
         एमालेका कार्यकर्ता र उनीहरुले ल्याएको भाडाका ब्यक्तिहरुले आतंक मच्चाए पछि मार्वुमा नेपाली कांग्रेस र माओवादी केन्द्रका गरी २९ जना विस्थापित भएका छन् । विस्थापितहरु मध्य २५ जना सिंगटी बजारमा रहेको र ४ जनाले सदरमुकाम पुगेर मुद्धा दर्ता गरेका हुन् । विस्थापितहरु घर फर्कन नसक्ने अवस्था रहेकोले उक्त स्थानमा चुनाव समेत स्थगित गर्न उनीहरुले माग गरेका छन् ।

Thursday, May 11, 2017

मौन अवधि तोड्दै एमाले पोलिटब्युरो सदस्य

मौन अवधि आचारसंहिता विपरित चौलागाईंले पोष्ट गरेको फोटोको स्क्रिनसट ।
रवीन्द्र गौतम । दोलखा

बैशाख २९, दोलखा । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार राती १२ बजेबाट मौन अवधि लागू गरे पनि नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईले त्यसलाई तोडेका छन् । चुनाव प्रचारका लागि दोलखा आइपुगेका नेता चौलागाईले आफ्नो फेसबुक पेजमा शुक्रबार विहान करिब ७ बजे स्टाटस लेख्दै राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता तथा देश र जनताको आर्थिक विकासको लागि सुर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी गराउँ भनी मतदातालाई प्रभाव पार्ने काम गरेका छन् ।
         नेता चौलागाईको स्टाटसको तलतिर नेकपा एमाले दोलखाबाट स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका २ नगरपाकिाका प्रमुख उपप्रमुख र ७ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको फोटो सहितको ब्यानर पनि पोष्ट गरेका छन् । नेता चौलागाईले सुर्य चिन्हमा छाप लगाएको कम्युटर डिजाइन फोटो समेत पोष्ट गरेका छन् । त्यसको केही समय पछि नेता चौलागाईले मतदाता प्रभाव पार्ने खालका अन्य खालका पोष्टहरुमा लाइक र शेयर समेत गरेका छन् । चौलागाई सँगै फेसबुक चलाउने थुप्रै ब्यक्तिहरुले मौन अवधिको सीमालाई ख्याल नगरी आ—आफ्नो उम्मेदवार र पार्टीलाई फेसबुकमार्फत मत मागिरहेका छन् ।
          निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँने छैन । सभा, जुलुस, नाराबाजीदेखि सामाजिक सञ्जालमा समेत लगायतका कुनै पनि गतिविधि गर्न  पनि बन्देज गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्र भित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।
          सदरमुकाम चरिकोट बजारमा नेपाली कांग्रेसले राखेको रुख चिन्ह अंकित ब्यानर तुलहरु अझै पनि देख्न पाइन्छ । उम्मेदवारहरुको फोटो सहितको फ्लेक्स प्रिन्ट पनि विभिन्न ठाउँमा अफै झुण्ड्याएको पाइन्छ । सदरमुकाम चरिकोट बजारको सातदोबाटोमा रहेको प्रहरी चौकी अगाडि नेकपा एमालेबाट नगरमा प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारहरुको ब्यानर अझै देख्न पाइन्छ । 
         मौन अवधि लागु भएपछि पार्टीहरुले प्रयोग गर्ने सवारी साधनबाट धेरैले झण्डा तथा ब्यानर हटाए पनि केहीले अझै कायमै राखेको पाइन्छ । मौन अवधिको ख्याल नगरी दलका उम्मेदवारहरु भित्री रुपमा अझै मतदातालाई प्रभाव पार्ने गरी घर दैलो कार्यक्रममा ब्यस्त रहेको पाइएको छ । मौन अवधिको समयमा आयोगको नियम तोड्नेलाई नियमानुसार कारवाही हुने जिल्ला निर्वाचन अधिकारी सच्युतराज अधिकारीले जानकारी दिए ।

दोलखामा मतदाता परिचयपत्र वितरण सुरु, स्वयँ उपस्थित भएर ३ दिन भित्र लिन सकिने


रवीन्द्र गौतम । दोलखा

बैशाख २८, दोलखा । जिल्लाको विभिन्न ९४ स्थलमा निर्वाचन आयोगले पठाएको मतदाता परिचयपत्र वितरणको काम बिहिबारदेखि सुरु गरेको छ ।
          आइतबार हुने निर्वाचनका लागि आजदेखि ३ दिनसम्म ९४ मतदान स्थलको १ सय ७८ केन्द्रबाट परिचयपत्र वितरण सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।    दोलखाका जिल्लाको १ लाख ३३ हजार ४ सय ८२ मतदाताहरुले फोटोसहितको मतदाता परिचयपत्र लिनु पर्ने हुन्छ ।
           कार्यालयले परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मतदान सम्बन्धी अन्योल हटाउन कार्यालयले मतदाता परिचयपत्र वितरण सँगै मतदाता शिक्षा पनि दिन लागेको हो । आयोगका अनुसार यसपटक एउटै मतपत्रमा ७ लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले ७ ठाउँमा स्वस्तिक छाप लगाउनु पर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुख वा उपाध्यक्षका लागि र तेस्रोमा वडा अध्यक्षका लागि हुनेछ ।
            त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ । पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक–एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।

Wednesday, May 10, 2017

जुँगु काण्डमा मृतकको परिवारले ३९ जना विरुद्व दर्ता गरे किटानी जाहेरी (यस्तो छ जाहेरी)


रवीन्द्र गौतम । दोलखा

बैशाख २७, दोलखा । गौरीशंकर गाउँपालिका वडा नं. २ मा मंगलबार राती भएको झडपमा परि मृत्यु भएका कुलबहादुर तामाङका पिता गोरे तामाङले बुधबार ३९ जना विरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गराएका छन् । नेकपा एमालेको कार्यकर्ता सहित विभिन्न नारावाजी सहित जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको मृतकका पिता तामाङले नेकपा माओवादीका विशाल खड्का, ढालबहादुर खड्का, विश्व भनिने गंगाबहादुर कार्की, कृष्णमाया कार्की, विश्वास कार्की, देवी खड्का सहित ३९ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् ।
          
              एमाले दोलखाले निकालेको विरोध ¥याली सातदोबाटोबाट शुरु भएर जिल्ला प्रहरी कार्यालय दोलखामा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयमा पुगेपछि नेकपा एमालेका सभासद पोखरेल र गुरुङ सहितको टोलीले प्रहरी नायव उपरिक्षक रविन कार्की समक्ष हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न र हत्यामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
            अनुसन्धानको लागि बुधबार विहान जँुगु पुगेको दोलखाका प्रहरी नायव उपरिक्षक रविन कार्कीको टोलीले शंकास्पद ८ जनालाई यस अघि नै पक्राउ गरी थुनामा राखेको छ । घट्नामा संलग्न जोसुकै भए पनि हदैसम्मको कारवाही गरिने प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।
          ¥यालीमा सहभागी भएका मृतकका आफन्तले हत्यारालाई कारवाही गर्न बुधबार नै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । मंगलबार राती ९ बजे दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर २ जुँगुमा माओवादी र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जना एमालेका कार्यकर्ताको मृत्यु भएको थियो । भडपमा दुवै पक्षका गरी करिव आधा दर्जन घाईते भएका थिए ।
         गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको थियो । मृतक तमाङ केही दिन अगाडि मात्र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
          यसैगरी, झडपका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्वर २ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भिर घाईते भएका थिए । घाईते बुढाथोकीलाई काठमाण्डौ महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको एमाले दोलखाले जनाएको छ । गम्भिर घाईते बुढाथोकी स्थानीय निलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।
आफ्ना कार्यकर्ताको हत्या गरेको विरोधमा नेकपा एमाले दोलखाले सदरमुकाम चरिकोटमा विरोध ¥याली निकालेको छ । एमालेका सभासद आनन्द पोखरेल र पार्वत गुरुङको नेतृत्वमा अपरान्ह निकालिएको ¥यालीमा करिव ३ सय एमाले कायकर्ताको सहभागिता रहेको थियो । जुलुसमा सहभागि एमाले कार्यकर्ताहरुले “हत्यारा माओवादी मुर्दावाद, माओवादी चाहिदैन, नेकपा एमाले जिन्दावाद, हत्यारालाई कार्वाही गर्” भन्ने लगायतका नारा लगाएका थिए ।

Tuesday, May 9, 2017

दोलखाको जुँगुमा झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु

झडपमा मृत्यु भएका कुलबहादुर तामाङको शव सदरमुकाम चरिकोटको शवगृहमा।
रवीन्द्र गौतम । दोलखा

बैशाख २७, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर २ जुँगुमा गएराति माओवादी र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने करिव आधा दर्जन घाईते भएका छन् ।
       गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तमाङ केही दिन अगाडि मात्र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । मृतक तामाङको शबलाई सदरमुकाम चरिकोटको लास घरमा राखिएको छ । तामाङको शरिरमा एमालेको सुर्य चिन्ह भएको भेष्ट लगाएको देखिन्छ । उनको टाउकोमा बढी चोट परेका कारण मृत्यु भएको देखिन्छ । 
          यसैगरी, झडपका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्वर २ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भिर घाईते भएका छन् । घाईते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । गम्भिर घाईते बुढाथोकी स्थानीय निलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् । दोहोरो झडपमा परि नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भरत खड्का लगाएतका ४ जना कार्यकर्ता घाईते भएको माओवादी केन्द दोलखा अध्यक्ष विशाल खड्काले जानकारी दिनु भयो । 
          गएराति करिव साढे ९ बजे चुनाव प्रचारको क्रममा गाउँ पुगेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार भरत खड्का र पुर्वराज्यमन्त्री एवम माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य देवी खड्का लगाएतको टोलीलाई एमालेका कार्यकर्ता ढुंगामुडा सहित आक्रमण गरेपछि दोहोरो झडप भएको बताइएको छ । 
जुगुँमा केही दिन यता ‘टाईगर ग्रुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्ताहरुलाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगाएतका गतिविधि बढेपछि सो ग्रुपसँग आवद्ध व्यक्तिहरु विरुद्ध प्रहरीमा समेत उजुरी परेको जनाइएको ।
          मृतक तामाङ टाईगर ग्रुपसँग आवद्ध भएको बताईएको छ । यद्यपी नेकपा एमाले दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरि ज्यान लिएको बताएका छन् । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । घटना बारे जानकारी लिन दोलखाका प्रहरी नायव उपरिक्षक रविन कार्कीको टोली घटनास्थल पुगिसकेका छन् ।

कस्ले निकाल्यो चिरञ्जीवि भण्डारीको नाममा किर्ते गरी २–२ ओटा विज्ञप्ती ?

एकै व्यक्तिले, एकै दिन दुईपटक निकालेको ध्यानाकर्षण पत्र, जुन सामान्य नागरिकले पनि विश्वास गर्न सक्दैन ।
बैशाख २६, दोलखा । नेकपा एमाले प्रदेश स्तरका नेता शिव भण्डारीका भाई चिरञ्जीवि भण्डारीको नाममा किर्ते हस्ताक्षर गरी एकसाथ २–२ ओटा विज्ञप्ती प्रकाशित भएको छ ।
       बैशाख २५ गते केही सञ्चारमाध्यममा एमालेका शिव भण्डारीका भाई चिरञ्जीवि सहित ५० जना नेपाली काँग्रेसमा प्रवेश भन्ने समाचारको विषयलाई लिएर गम्भीर ध्यानाकर्षण भनेर प्रकाशित २ ओटा छुट्टा छुट्टै विज्ञप्तीमा शुन्य प्रतिशत पनि हस्ताक्षर नमिलेको अक्षरसम्वन्धी जानकारी राख्नेहरुको भनाई छ । ध्यानाकर्षण पत्र प्रकाशित हुँदा चिरञ्जीवि भण्डारी मेलुङ गाउँपालिका वडा नं. २, सुकाठोकरमा एक छिमेकीको घर निर्माणमा व्यस्त रहेको स्रोतको दावी रहेको छ ।
        भण्डारीसँग टेलिफोन सम्पर्क गर्दा ध्यानाकर्ष पत्रबारे अनभिज्ञ रहेको प्रतिक्रिया दिनु भयो । कुनै गलत ब्यक्तिले अmाफूलाई फसाउन त्यस्तो कृते काम गरेको हुन सक्ने भन्दै भण्डारीले त्यस्ता कृर्ते काम गर्नेंहरुको हर्कतलाई चुनावबाट देखाइदिने पनि बताउनु भयो ।
प्रकाशित २ ओटा छुट्टा छुट्टै ध्यानाकर्षण पत्रको व्यहोरा एउटै भएको भए पनि एउटा पत्र हस्त लिखित र अर्को भने कम्युटर टाइप गरी प्रकाशित गरिएको छ ।  दुवैमा हस्ताक्षर भने पुरै फरक फरक रहेको बुझिएको छ । मेलुङ गाउँपालिका वडा नं. २, सुकाठोकरमा नेकपा एमालेका प्रदेशस्तरका प्रभावशाली नेता शिव भण्डारीका सरोदर भाई चिरञ्जीवि भण्डारीको नेतृत्वमा ३० जना सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
           नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले आयोजना गरेको घरदैलो र कोणसभा कार्यक्रममा सोमबार चिरञ्जीवि भण्डारी सहित ३० जना एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ । सोमबार एमाले परित्याग गरी भण्डारीको नेतृत्वमा बलबहादुर कार्की, सोमबहादुर अछामी, सन्तोष भण्डारी, कल्पना भण्डारी, कमला भण्डारी, यज्ञदेवी भण्डारी, मिनबहादुर भण्डारी, चित्रबहादुर भण्डारी, भोजबहादुर कार्की रामबहादुर कार्की, चेली कार्की र नरबहादुर थापा सहित ३० जनाको टोली नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ ।

दोलखामा १ हजार ६ कर्मचारीसँगै निर्वाचन सामग्री पठाइँदै, भोलिसम्म सबै पुगिसक्ने


 रवीन्द्र गौतम । दोलखा

बैशाख २६, दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाले यतिखेर जिल्लाका सवै मतदान केन्द्रहरुमा खटाइने मतदान अधिकृतको समूहलाई निर्वाचनको लागि अत्यावश्यक सामग्री जिम्मा लगाइरहेको छ ।
          यससँगै आ आफ्नो मतदान केन्द्रमा पुग्ने मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुले निर्वाचन कार्यालय परिसरमा पुगी निर्वाचन सामग्री बुझिरहेका छन् । उनीहरुले बुझ्ने सामग्रीहरुमा मतपत्र बाहेक ६४ प्रकारका सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिकारी सच्युतराज उप्रेतीले जानकारी दिनु भयो । निर्वाचन अधिकारी उप्रेतीका अनुसार सियोदेखि, लाहाछाप, स्वस्तिक छाप, मुचुल्का फारम लगायतका सामग्रीहरु पठाइएको छ ।
          निर्वाचन कार्यालयका अनुसार २८ गते सम्म मतदान केन्द्रसम्म पुग्ने गरी सवै मतदान अधिकृतहरुको जिम्मामा अहिले निर्वाचन सामग्री जिम्मा लगाइएको छ । निर्वाचन आयोगको तालिका अनुसार यही बैशाख २८, २९ र ३० गते मतदाताहरुलाई सम्बन्धित मतदान केन्द्रबाट परिचय पत्र वितरण गरिने कार्यक्रम रहेको हुँदा उक्त मिति सम्म फोटो सहितको मतदाता परिचय पत्र समेत पठाइएको छ ।
           दोलखमा ९४ स्थानमा १ सय ७८ वटा मतदान केन्द्र तोकिएको छ । जसमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी जम्मा १ हजार ६ जना कर्मचारी परिचालन गरिएको छ ।

Monday, May 8, 2017

दोलखामा अज्ञात व्यक्तिद्वारा एक गाडीमा आगजनी

 
रवीन्द्र गौतम । दोलखा

बैशाख २६, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ६ चोथाङमा पार्किङ गरी राखिएको गाडीमा अज्ञात व्यक्तिद्वारा आगजनी गर्दा गाडी पूर्ण रुपले नष्ट भएको छ ।
         मंगलबार बिहान करिब २ बजेको समयमा भीमेश्वर नगरपालिका वडा नं. ६ चोथाङमा पार्किङ गरी राखिएको बा९च १०८० नम्बरको टोयोटा हाइलक्स गाडीमा अज्ञात व्यक्तिद्वारा आगजनी गर्दा गाडी जलेर नष्ट भएको हो ।
          प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नष्ट भएको गाडी सिन्धुपाल्चोकको खाडीचौरदेखि चरिकोटसम्म सडक फराकिलो तथा कालोपत्रे गर्ने योजनाको परामर्शदाता इटेको नेपाल प्रालिको रहेको छ । गाडीको इन्जिन रहेको भाग, अगाडीको २ ओटा टायर र चालक बस्ने भाग जलेर नष्ट भएको इटेको नेपाल प्रालिका प्राविधिक मुक्तिनाथ ढकालले जानकारी दिए । घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

एमालेका शिव भण्डारीका भाई चिरञ्जीवि सहित ५० जना नेपाली काँग्रेसमा प्रवेश

रवीन्द्र गौतम । दोलखा

बैशाख २५, दोलखा । सरोदर भाउजु नेकपा एमालेको तर्फबाट मेलुङ गाउँपालिकामा उपाध्यक्ष पदमा चुनावी मैदानमा होमिएको बेला देवर भने नेपाली काँग्रेसमा प्रवश गरेका छन् ।
          मेलुङ गाउँपालिका वडा नं. २, सुकाठोकरमा नेकपा एमालेका प्रदेशस्तरका प्रभावशाली नेता शिव भण्डारीका सरोदर भाई चिरञ्जीवि भण्डारीको नेतृत्वमा ३० जना सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ । चिरञ्जीवि भण्डारीको सरोदर भाउजु कल्पना भण्डारी नेकपा एमालेबाट मेलुङ गाउँपालिकाको उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा हुँदा काँग्रेसमा प्रवेशले नेकपा एमालेमा हंगामा मच्चिएको जनाइएको छ ।
           नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले आयोजना गरेको घरदैलो र कोणसभा कार्यक्रममा सोमबार चिरञ्जीवि भण्डारी सहित ३० जना एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाको अध्यक्ष बर्मा लामाले जानकारी दिनुभयो । सोमबार एमाले परित्याग गरी भण्डारीको नेतृत्वमा बलबहादुर कार्की, सोमबहादुर अछामी, सन्तोष भण्डारी, कल्पना भण्डारी, कमला भण्डारी, यज्ञदेवी भण्डारी, मिनबहादुर भण्डारी, चित्रबहादुर भण्डारी, भोजबहादुर कार्की रामबहादुर कार्की, चेली कार्की र नरबहादुर थापा सहित ३० जनाको टोली नेपाली काँग्रेसमा प्रवेश गरेको लामाले जानकारी दिनुभयो ।
          यसै गरी सोमबार नै तत्कालीन भेड्पु गाविस वडा नं. ३ मा आयोजना गरिएको घरदैलो तथा कोणसभा कार्यक्रममा भेड्पु गाविस वडा नं. ३ का वडाध्यक्ष मानबहादुर तामाङको नेतृत्वमा २० जना नेपाली काँग्रेसमा प्रवेश गरेको काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ ।

Saturday, May 6, 2017

भुकम्पपीडितको बारेमा यस्तो लेखिएको छ, दलहरुको घोषणापत्रमा

काँग्रेसको घोषणा पत्र
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको घोषणा पत्रको बँुदा नं. ३.३.६ मा भुकम्प र त्यस पश्चात काँग्रेसले गरेको योगदान तथा विपद् व्यवस्थापन र पूर्वतयारीको विषयलाई राष्ट्रिय र स्थानीय तहमा कसरी सम्वोदन गरिन्छ भन्ने विषयमा उल्लेख गरेको । काँग्रेसले आफ्नो घोषणा पत्रमा निकै नै प्राथमिकताको साथ पुर्ननिर्माणको चरणलाई योजनावद्ध ढंगबाट समाधान गर्ने बताएको छ । घोषणा पत्रको बुँदा नं. ३.३.६ मा वैशाख १२, २०७२ मा गएको विनाशकारी भूकम्पले देशमा धनजनको ठूलो क्षति भयो । कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकार सीमित साधन र स्रोतका बाबजूद राहत, उद्धार, उपचार र बसोबासको समुचित व्यवस्थापन गर्न सफल भयो । भूकम्पबाट धनजनको ठूलो नोक्सानी भए पनि उपचार नपाएर वा खान नपाएर कसैले जीवन गुमाउनु परेन । भूकम्पछिको पुनर्निर्माणका लागि दाताहरुको अन्तराष्ट्रिय सम्मेलन सफलताका साथ सम्पन्न गरियो । उक्त सम्मेलनमा नेपालको पुनर्निर्माणका लागि ४ खर्ब रुपंैयाभन्दा बढीको सहायता प्रतिबद्धता जुट्यो । तर नेपाली कांग्रेसको नेतृत्वको सरकार परिवर्तन भएपछि उक्त सहायता पछिल्ला सरकारहरुले दृढताका साथ कार्यान्वयनमा ल्याउन नसकेकोले जनताले अझै पनि दुख कष्ट भोग्नु परिरहेको पीडादायी अवस्था छ ।
  • त्यसैले भूकम्प प्रभावित क्षेत्रका पीडितहरुको समस्या सम्वोधन गर्नु र पुनर्निमाण कार्यलाई गति प्रदान गर्नु स्थानीय सरकारको मुख्य प्राथमिकता हुनेछ ।
  • स्थानीय सरकारद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका स्थानीय कार्यालयहरुसंग प्रभावकारी समन्वय र वास्तविक पीडितहरुको पूर्ण पहिचान गरी प्रक्रियागत सहजीकरणका माध्यमबाट उनीहरुको गुनासो यथाशीघ्र न्यायोचित रुपमा सम्वोधन गर्दै थप सुविधा दिइनेछ ।
  • भूकम्प प्रभावित क्षेत्र वा भूकम्प नगएका ग्रामीण क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन कम्तिमा ५० हजार रुपैयाको प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
  • नयाँ बन्ने सबै घरहरुलाई भूकम्प प्रतिरोधी बनाइने व्यवस्था गरिनेछ ।
नेपाल सबै प्रकारका विपद्को उच्च जोखिम भएको देश हो । त्यसैल ेस्थानीय सरकारले आफ्ना ेगाउँ, नगरमा विपद्को जोखिम आकलन गर्नु, विपद् जोखिम क्षेत्रको नक्साङ्कन, स्थानान्तरण र विपद्को पूर्व तयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनेछ । विपद् व्यवस्थानमा संघ, प्रदेश र स्थानीय जनतासँग सहकार्य गरी बाढी, पहिरो, चट्याङ, हावाहुरी, आगलागी, खडेरी, शीतलहर, हिमपात, अतिवृष्टि र भूकम्प जस्ता कारणहरुको आंकलन गर्ने र यिनीहरुबाट हुने नकारात्मक प्रभावलाई घटाउन वा हटाउन आवश्यक योजना स्थानीय सरकारले बनाउनेछ । विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन स्थानीय सरकारले निम्न कार्यहरु गर्नेछ .
  • एउटा विपद् कोषको स्थापना ।
  • जनचेतना जगाउने र पूर्व सूचना प्रवाह गर्ने कार्ययोजना ।
  • स्थानीय, क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय ज्ञान र स्रोतको खोजी र संयोजन । 
  • विद्यालयको पाठ्यक्रममा आफ्नो क्षेत्रको विपद् जोखिम बारे जानकारी दिन र सुरक्षित हुन आवश्यक तालिम ।
  • सुरक्षित वस्ती विकास, भवन संहिता अनुसारको सुरक्षित भवन निर्माणको कार्यान्वयन गर्ने भनेर नेपाली काँग्रेसले अत्यन्त योजनावद्ध ढंगले आफ्नो घोषणा पत्रको बुँदा नं. ३.३.६ मा उल्लेख गरेको छ । यसले नेपाली काँग्रेस देशको समग्र विकासमा साह्रै चिन्तित रहेको छ भन्ने प्रष्ट देखिन्छ ।
एमालेको घोषणा पत्र
नेपाली काँग्रेसले जस्तै विस्तृत रुपमा नेकपा एमालेले आफ्नो घोषणा पत्रमा समग्र पुर्ननिर्माण प्रक्रियालाई प्राथमिकता नदिए पनि स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एमालेले जारी गरेको घोषणा पत्रको बँुदा नं. ५१ मा भुकम्प प्रभावित क्षेत्रमा व्यापक पुर्ननिर्माणलाई कसरी सम्वोदन गरिन्छ भन्ने विषयमा उल्लेख गरेको । एमालेको घोषणा पत्रको बुँदा नं. ५१ मा
  • स्थानीय निर्वाचनको पहिलो वर्षमै पुनर्निमाण प्राधिकरण सित समन्वय गरी भूकम्पका कारण भत्किएका ऐतिहासिक र पुरातात्विक सरकारी भवनहरूको तथ्याङ्क अद्यावधिक गरिने छ ।
  • सुरक्षित र एकीकृत वस्ती विकासका लागि स्थानीय सरकारले उपयुक्त स्थानको खोजी गर्ने छ र सकेसम्म धेरै परिवारहरू बसोबास गर्न सक्ने सहरको नक्सांकन सहितको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने छ ।
  • विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख भए बमोजिम प्रिफेव भवनहरू ६ महिना भित्र निर्माण गर्ने गरी निर्माण कम्पनीहरूलाई आह्वान गरिने छ । अभियानको पहिलो वर्षको अन्त्य सम्ममा सुविधा सम्पन्न भवनहरू निर्माण गरी भूकम्प पीडित परिवारलाई पुनसर््थापित गरिने छ ।
  • शहरीकरण गरिएका सबै स्थानहरूमा बजार, आवास, औद्योगीक क्षेत्र, उत्पादन क्षेत्र, खेलकूद मैदान, पार्क, हरियाली क्षेत्र, विद्यालय तथा महाविद्यालय स्थलहरू अलग–अलग छुट्याइने छ । शहरलाई हरियाली युक्त, वातावरण मैत्री बनाइने छ । हरेक शहरमा एकीकृत सेवा केन्द्र स्थापना गरिने छ ।
  • हरेक स्थानीय तहमा विपद् व्यवस्थापन केन्द्र र कोष स्थापना गरी विपद् पूर्व तयारी, खोज र उद्वार, राहत सामग्रीको पूर्व भण्डारण तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गरिने छ । स्थानीय तहका सबै संरचना प्राकृतिक जोखिमबाट सुरक्षित, विपद्प्रति संवेदनशील र अपाङ्गमैत्री बनाइनेछन् भनेर नेकपा एमालले आफ्नो घोषणा पत्रको बुँदा नं. ५१ मा केही योजना सहित उल्लेख गरेको छ ।
माओवादीको घोषणा पत्र
नेकपा माओवादी केन्द्रले जारी गरेको घोषणा पत्रमा भुकम्प र समग्र पुर्ननिर्माणलाई अत्यन्त कम प्राथमिकताको विषयमा राखेको छ । माओवादी केन्द्रले विना योजना झारो टार्ने हिसाबले आफ्नो घोषणा पत्रको बँुदा नं. ७ भुकम्प र पुर्ननिर्माण शीर्षकमा करिब २७ शब्द मात्र खर्चिएको छ । माओवादी केन्द्रको घोषणा पत्रको बँुदा नं. ७ मा ‘भूकम्पले क्षति पु¥याएका र पुनर्निमाण हुन बाँकी रहेका क्षेत्रहरुमा पुननिर्माणको कार्यक्रमलाई तीव्रता दिइनेछ । पुननिर्माण गर्दा परम्परागत संस्कृतिको संरक्षण गर्दै आधुनिक प्रकारको सघन ग्रामीण वस्तीहरुको विकासमा जोड दिइनेछ ।’
नयाँ शक्तिको घोषणा पत्र
नयाँ शक्तिको घोषणा पत्रमा भुकम्प र समग्र पुर्ननिर्माणलाई नेकपा माओवादी केन्द्रकोभन्दा योजनाबद्ध र केही विस्तृत रुपमा प्राथमिकतामा राखेको छ । नयाँ शक्तिले जारी गरेको घोषणा पत्रको बुँदा नं. ४.६.१७ मा भुकम्प पुर्ननिर्माण शीर्षक राखी प्राथमिकताको साथ जारी गरेको छ । नयाँ शक्तिले जारी गरेको घोषणा पत्रको ४.६.१७ मा
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरण ऐनमा आवश्यक संशोधन गरी त्यसलाई पूर्ण कार्यकारी अधिकार सहित सक्षम र सबल बनाइनेछ र भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण÷नवनिर्माणलाई नयाँ ढंगले तीब्रताका साथ अघि बढाइनेछ ।
  • २०७२ साल बैशाखमा गएको भूकम्प पीडितको लागि विशेष योजनामार्फत एकवर्ष भित्र क्षति ग्रस्त वस्तीहरु तथा सार्वजनिक भवनहरुको पुनर्निर्माण गरि सकिनेछ । राज्यको तर्फबाट पीडित परिवारलाई एकमुष्ट तत्काल अनुदान दिइने व्यवस्था गरिनेछ ।
  • कम व्याजदरमा ऋण तथा कर छुट दिएर भूकम्प पीडितहरुलाई उद्यम, व्यवसाय गर्न सरकारले सहयोग गर्नेछ ।
  • स्थानीय सरकारले भूकम्प प्रभावितहरुको परिचय पत्र बनाई सो परिचयपत्र वाहक परिवारका सदस्यलाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था गर्नेछ भनेर नयाँ शक्तिले आफ्नो घोषणा पत्रको बुँदा नं. ४.६.१७ मा केही योजना उल्लेख गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो देशको चौथो ठूलो शक्तिले आफ्नो घोषणा पत्रमा भुकम्प र पुर्ननिर्माणको विषयलाई प्राथमिकता दिएको छैन । राप्रपाले घोषणा पत्रमासम्म पनि भुकम्प र समग्र पुर्ननिर्माणलाई प्राथमिकता दिएको छैन भने अन्य विषयलाई उसले कसरी सम्वोदन गर्ला भन्ने विषयमा आम नागरिकहरु सशंकित रहेको पाइएको छ ।

Thursday, May 4, 2017

दोलखामा उम्मेदवारलाई धम्की दिने विप्लवका ३ कार्यकर्ता पक्राउ


रवीन्द्र गौतम । दोलखा

बैशाख २२, दोलखा । दोलखाको विभिन्न नगरपालिका र गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिष्ट पार्टी विप्लवका ३ कार्यकर्ता शुक्रबार विहान प्रहरीले पक्राउ गरेको छ ।
    शुक्रबार बिहान करिब सदरमुकाम चरिकोटको एक चिया पसलबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी विप्लव दोलखाको सेक्रेटरी राजन धनुके, इन्चार्ज अर्जुन योगी र विद्यार्थी नेता सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
   करिब २० वर्षपछि स्थानीय तहको निर्वाचनमा होमिएको उम्मेदवारहरुलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ताले विहिबार उम्मेदवारी फिर्ता लिन पत्रमार्फत धम्की दिए पछि पक्राउ गर्नु परेको प्रहरीले जनाएको छ । आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताको लागि मान्य नभएको भन्दै उम्मेदवारी दिएकाहरुले फिर्ता लिन पत्रचारमार्फत विप्लबले धम्की दिएको हो । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिने समेत पत्रमा उल्लेख छ ।

दोलखामा प्रमुख सहित ४४ जनाले लिए उम्मेदवारी फिर्ता

रवीन्द्र गौतम । दोलखा

बैशाख २१, दोलखा । स्थानीय तहको निर्वाचन २०७४ का लागि दोलखाका २ नगरपालिका र ७ गाउँपालिकामा दर्ता गरिएका उम्मेदवारहरुमध्ये ४४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
        भिमेश्वर नगरपालिकामा ८ जनाले विभिन्न पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । मेयर पदमा नेकपा माओवादी केन्द्रका मोहन थापाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यसै गरी नेपाली कांग्रेसबाट उप मेयरमा उम्मेदवारी दिनु भएकी शारदा थापाले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यसैगरी भिमेश्वर नगरपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष बन्नु भएका राजकुमार कार्की, र वडा नं ६ मा माओवादी केन्द्रकै वडा अध्यक्ष सुरज तमाङले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।
        त्यसैगरी मेलुङ गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारमा माओवादी केन्द्रकी सिता तमाङ र उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पना केसीले उम्मेदवारी फिर्ता लिनु भएको छ । मेलुङ गाउँपालिका वडा नं ४ मा राप्रपाका रामजी अधिकारी र वडा नं ७ मा माओवादी केन्द्रको वडा अध्यक्ष यज्ञ बहादुर श्रेष्ठ गरी जम्मा १० जनाले उम्मेदवारी फिर्ता लिएको मेलुङ गाउँपालिकाका निर्वाचन अधिकृत दुर्गा प्रसाद भुर्तेलले जानाकारी दिनु भयो ।
       त्यसैगरी तामाकोसी गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रकी सविता घिमिरे र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदीले उम्मेदवारी फिर्ता लिनु भएको हो । तामाकोसी गाउँपालिका वडा नं ४ मा माओवादी केन्द्रका वडा अध्यक्ष ठाकुर कुमार खड्का पनि उम्मेदवारी फिर्ता लिनु भएको तामाकोसी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वराज न्यौपानेले बताउनु भयो ।
    विगु गाउँपालिका भने वडा नं ४ मा राप्रपाबाट दलित सदस्य बनेकी कल्पना नेपाली र खुल्ला सदस्य किरण खड्काले पनि उम्मेदवारी फिर्ताको लागि निवेदन दिएको विगु गाउँपालिका निर्वाचन अधिकृत विष्णु कुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार निवेदन दिनेहरुले पार्टीको आधिकारीक पत्र नल्याएको कारण निर्णय हुन सकेको छैन ।
        त्यसैगरी वैतेश्वर गाउँपालिकामा भने वडा नं ७ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिचन्द्र रिमालले उम्मेदवारी फिर्ता लिनु भएको छ । त्यस्तै गौरीशंकर गाउँपालिकामा १२ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी प्राप्त भएको छ । उता जिरी नगरपालिका, शैलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा भने कुनै पनि उम्मेदवारी फिर्ता नभएको त्यहाँका निर्वाचन अधिकृतहरुले बताउनु भएको छ  ।

दोलखामा ४ सय ३९ महिला चुनावी मैदानमा, २ दलित महिला निर्विरोध निर्वाचित


रवीन्द्र गौतम । दोलखा

बैशाख २१, दोलखा । यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दोलखामा ४ सय ३९ महिला चुनावी मैदानमा उत्रिएका छन् ।
      निर्वाचनको लागि बैशाख १९ गते मंगलबार २ नगरपालिका र ७ गाउँपालिकामा दर्ता गरिएको उम्मेदवारहरुको तथ्याङ्कअनुसार ४ सय ३९ महिलाहरु चुनावी मैदानमा उत्रिएका हुन् । २ नगरपालिका र ७ गाउँपालिकाको प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र ७४ ओटा वडाहरुमध्ये २ नगरपालिका र २ गाउँपालिका ४ जना प्रमुख पदमा, विभिन्न नगर र गाउँपालिका गरी १६ उपप्रमुख, ७४ ओटा वडामा महिला र दलित महिला सदस्यमा क्रमश २ सय २० र १ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
        ति महिला उम्मेदवारहरुमध्ये बैत्यश्वर गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट  ठुलीकान्छी विक र जिरी नगरपालिका वडा नं. ४ मा एमालेबाट निरमाया विक दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।
        भीमेश्वर नगरपालिका, जिरी नगरपालिका र शैलुङ गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्रमशः देवकी बुढाथोकी, उर्मिला बस्नेत कार्की र सानिकान्छी तामाङ तथा मेलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट सिता तामाङले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७४ महिला सदस्यको लागि २ सय २० जनाको उम्मेदवारी परेको छ भने ७४ ओटै दलित महिला सदस्यको लागि १ सय ९९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढि भीमेश्वर नगरपालिका र सबैभन्दा कम बैत्यश्वर गाउँपालिकामा महिलाहरुको उम्मेदवारी दर्ता भएको पाइएको छ ।