Friday, June 10, 2016

दोलखामा धर्म परिवर्तन गराउने ७ क्रिश्चियनहरु पक्राउ





















रवीन्द्र गौतम । दोलखा

जेठ २८, दोलखा । हिन्दु तथा बुद्ध धर्म मान्ने विद्यार्थीहरुलाई क्रिश्चियन धर्ममा परिवर्तन गराएको आरोपमा २ बोर्डिङका सञ्चालकसहित ७ जनालाई दोलखा प्रहरीले प्रक्राउ गरेको छ ।
      स्थानीय माउण्ट भ्याली बोर्डिङ र माडर्न नेपाल बोर्डिङ स्कुलका सञ्चालक सहित क्रिश्चियन धर्म सम्बन्धि पुस्तक बाँडेर धर्मप्रचार गरेको आरोपमा
दोलखा प्रहरीले बिहिबार प्रक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा माउण्टभ्याली बोर्डिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही, क्रिस्चियन संस्था टिच नेपाल काठमाण्डौंका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोरखाका फिलिप तमाङ, दोलखाका किरण दाहाल, चालक रामेछापका भीमबहादुर तिवारी पक्राउ परेको दोलखा प्रहरी प्रमुख डीएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
             उनीहरुले माउण्ट भ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमालमा बेरेर क्रिश्चियन धर्म सम्बन्धी महान कथा नामक किताव, येशु ख्रिष्टका जीवन सम्वन्धी चित्रकला, पकेट डायरी लगायत धर्मसम्वन्धी अन्य विभिन्न सामग्री बाँढेको आरोप लगाइएको छ । टिच नेपालबाट धर्म प्रचारमा प्रयोग गरिएको बा३च ३७९३ नम्बरको टोयोटा गाडी समेत नियन्त्रणमा लिइएको डीएसपी पाण्डेले जानकारी दिए ।
        डीएसपी पाण्डेका अनुसार उनीहरुले बुधबार माउण्ट भ्यालीमा र बिहिवार नेपाल बन्दको मौका छोपी मोर्डन नेपाल बोर्डिङमा विद्यार्थीहरुलाई दिनभर धार्मिक कार्यक्रम गरेर प्रवचन समेत गरेका थिए । विद्यालयबाट नै संस्थागत धर्म परिवर्तन गर्न अभिप्रेरित गरेको आरोपमा प्रहरीले सबैजनालाई अर्काको धर्ममा खलल पु¥याउने कार्य गरेको, धर्म परिवर्तन गराउने र प्रचार गरिएको विरुद्धमा हुने मुलुकी ऐन अदलको महलको १ र नेपालको संविधान २०७२ को धारा २६ उपधारा ३ विपरीत कार्य गरेकोले मुद्दा चलाइने डीएसपी पाण्डेले बताए ।