Monday, June 27, 2016

दोलखामा सेनाद्वारा निर्मित सामुहिक आवास हस्तान्तरण

रवीन्द्र गौतम । दोलखा

असार १३, दोलखा । विनासकारी भूकम्पले आवास गुमाई विपतमा परेकाहरुलाई लक्षित गरी नेपाली सेनाको रणभीम गणले दोलखाको जिरीमा निर्माण गरेको सामुहिक आवास भवन हस्तान्तरण गरिएको छ ।
           रणभीम गणका गणपति मधुसुदन नरसिंह राणाले दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई
आइतबार भवनको चावी हस्तान्तरण गरेका हुन् । त्यसको लगत्तै सभासद् पार्वत गुरुङले रिवन काटेर भवनको उद्घाटन गरेका थिए ।
          सेनाले १९ दिनमा निर्माण सम्पन्न गरेको १२ कोठे पक्की भवनमा भूकम्पबाट आवास गुमाएकाहरुलाई आपतकालीन बसाईमा प्रयोग गरिने लक्ष्य रहेको छ । भवन हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै सभासद् पार्वत गुरुङले यति छिट्टै आवास निर्माण गर्ने सेनालाई भूकम्पले क्षतिग्रस्त भएका जिल्लाहरुमा पुनर्निर्माणको जिम्मा दिँदा उपयुक्त हुने बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले सेनाले निर्माण गरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको भवनको सही सदुपयोग हुने विश्वास दिलाए । उनले सो भवन स्थानीय निकाय जिरी नगरपालिकालाई हस्तान्तरण भएको जानकारी दिए । 
       जिरी उच्च माविको परिसरमा दुईवटा ब्लकमा निर्माण भएको १२ कोठे भवनमा दुईमुखे दाउरे चुलो, वैकल्पिक सौर्य बत्ती सहितको व्यवस्था गरिएको छ । उक्त भवन ४७ लाखको लागतमा निर्माण सम्पन्न भएको रणभीम गणले जानकारी दिएको छ ।