Tuesday, June 14, 2016

दोलखाको ८३ प्रतिशत परिवार स्वच्छ खानेपानीको पहुँचमा

रवीन्द्र गौतम । दोलखा

असार १, दोलखा । दोलखाका ८३ प्रतिशत घरपरिवार स्वच्छ खानेपानीको पहुँचमा रहेको पाइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दोलखाको आर्थिक वर्ष २०७२÷०७३ को प्रगति प्रतिवेदनअनुसार जिल्लाको ८३ दशलमब ६ प्रतिशत
घरपरिवारहरुले स्वच्छ खानेपानी पिउने गरेको पाइएको हो ।
           
         जिल्ला विकास समिति दोलखाको घरधुरी सर्भेक्षण २०७० अनुसार करिब ५१ हजार घरधुरी रहेको दोलखाका करिब ४३ हजार घरधुरीले विभिन्न माध्यमबाट स्वच्छ खानेपानी पिउने गरेको खानेपानी डिभिजनको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालको जनगणना २०६८ अनुसार ४५ हजार ६ सय ५८ घरपरिवार रहेको थियो ।
 आव २०७२÷०७३ मा जिविसतर्फबाट ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रममा मात्र करिब रु. ५८ लाख लगानी गरेको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिए । जिविसले सो खर्चमा ३५ ओटा विभिन्न योजनाहरु सम्पन्न गरी स्वच्छ खानेपानीमा पहुँच वृद्धि गरेको उनले जनाए । जिविसको रोयल्टी व्यवस्थापन तथा जनसहभागितामा आधारित विकास कार्यक्रम शीर्षकबाट समेत खानेपानीका केही योजनाहरुमा लगानी गरेको स्थानीय विकास अधिकारी शर्माले जनाए ।
       खानेपानी सरसफाई उपभोक्ता महासंघ दोलखाले करिब २ सय उपभोक्ता समूहका ५० सदस्यहरुलाई निरन्तर स्वच्छ पानी पिउन तथा पिलाउने अभियानमा लाग्न समेत प्रशिक्षण गरेको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दोलखाले आर्थिक वर्ष २०७२÷०७३ मा ४० भन्दा बढी आयोजना सम्पन्न गरेको कार्यालय प्रमुख विद्यानाथ भट्टराईले जानकारी दिए । सोको लागि कार्यालयले करिब रु. ४ करोड लगानी गरेको उनले बताए । ३५ गाविसमा करिब ३ सय नयाँ धारा जडान, २५ ओटा फेरो ट्याङकी निर्माण, २० खानेपानी आयोजना मर्मत सम्भार गरिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।
             आर्थिक वर्ष २०७२÷०७३ मा भुकम्पका कारण धेरै मुहानहरु सुकेको, कतिपय मुहानहरु पहिरोले बगाएर गाउँभन्दा तल पुृ¥याएको, पाइपहरु बगाएको लगायत समस्यका कारण नयाँ योजनाको लागि पनि सर्भेक्षण कार्यक्रम रहेको कार्यालय प्रमुख भट्टराइले जानकारी दिए ।