रवीन्द्र गौतम । दोलखा
असार ३, दोलखा । आर्थिक वर्ष २०७२÷०७३ को जेठ मसान्तसम्म विभिन्न ७२ शीर्षक गरी दोलखाको सरकारी कार्यालयगत राजश्व आम्दानी रु. १६ करोड पुगेको छ ।
दोलखाबाट राजश्व आम्दानी गर्ने २९ सरकारी कार्यालयबाट आर्थिक वर्ष ०७२÷७३ को ११ महिनामा रु. १५ करोड ८७ लाख ४८ हजार ३ सय ३ राजश्व आम्दानी भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । आव ०७२÷७३ को असार महिनाको राजश्व दाखिला हुन बाँकी हुँदै अघिल्लो आव ०७१÷७२ को भन्दा रु. २ करोड ८ लाख ३५ हजारले बढी हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख नारायणप्रसाद उपाध्यायका अनुसार तुलनात्मक रुपमा यस आवमा राजश्व संकलन अत्यधिक भएको छ । सरकारी कार्यालयहरुमा भुकम्प र त्यसका लागि खर्च र आम्दानी बाँधिने बजेट शीर्षक पनि बढेको कारण राजश्व संकलनमा वृद्धि भएको हुन सक्ने दोलखाका कोष तथा लेखा नियन्त्रक उपाध्ययले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले रु. १० करोड ७८ लाख ५४ हजार ९ सय ८७ राजश्व संकलन गरेको छ भने सबैभन्दा कम महिला तथा बालबालिका कार्यालयले रु. १ हजार राजश्व संकलन गरेको छ ।
राजश्व संकलन हुने कार्यालयहरुले पनि आव ०७२÷७३ मा उल्लेख्य राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । दोलखा जिल्ला अदालतले रु. १७ लाख ९५ हजार, घरेलु तथा साना उद्योग विकास समितिले रु. २२ लाख ५४ हजार, कृषि विकास कार्यालयले रु. १० लाख ६३ हजार, पशु विकास फर्म जिरी दोलखाले रु. १९ लाख ६२ हजार, ट्राफिक कार्यालयले रु. ११ लाख ६५ हजार, मालपोत कार्यालयले ४४ लाख ४७ हजार संकलन गरेको तथ्याङ्क छ ।
जिल्ला प्रशासन कार्यालयले रु. २ करोड १३ लाख ६६ हजार, जिल्ला विकास समितिले रु. ३९ लाख ४१ हजार, डिभिजन सडकले रु. ३८ लाख ७५ हजार, शिक्षा कार्यालयले रु. ४९ लाख २८ हजार, स्वास्थ्यले रु. ८ लाख ७२ हजार, हुलाकले रु. ८ लाख ६८ हजार, नापीले रु. ६ लाख ४८ हजार राजश्व संकलन गरेको प्रमुख कोष नियन्त्रक उपाध्यायले जानकारी दिए ।