Tuesday, June 7, 2016

जीक्याप प्रमुख शाहको मृत टाउकोको मूल्य रु. १० लाख

मूल्य तोक्ने पक्राउ, साइबर अपराध मुद्धा दायर

रवीन्द्र गौतम । दोलखा

जेठ २५, दोलखा । पटक पटक विवादमा मुछिएका गौरीशंकर संरक्षण क्षेत्र दोलखाका प्रमुख सत्यनारायण शाहलाई फेसबुकमार्फत मृत टाउकोको मूल्य तोक्नेलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।
 सामाजिक सञ्जाल फेसबुकमा जीक्यापका प्रमुख शाहको मृत टाउकोको मूल्य तोक्ने लादुक ७ का ४३ बर्षिय शान्त केसी खत्रीलाई प्रहरीले पक्राउ गरी साइवर अपराध मुद्धामा ५ दिन म्याद थपेको दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।
          गत बैशाख १३ गते संरक्षण क्षेत्रको कार्यालय सिंगटीमा भएको तोडफोडमा संलग्न भनिएका खत्रीले आफ्नो फेसबुक वालमा गत जेठ ११ गते शाहको टाउको ल्याउनेलाई रु. १० लाख
पुरस्कार दिइने भनेर लेखेको आधारमा शाहले दिएको मुद्धामा खत्रीलाई पक्राउ गरी मुद्धा दायर गरेको प्रहरीेले जनाएको छ । स्मरणका लागि लादुक, लामिडाँडा, बुलुङ, ओराङ लगायत १२ गाविसका भुकम्पपीडितले घर बनाउन काटेको रुख चिरान गर्न नदिएको आरोपमा संरक्षण क्षेत्र सिंगटीको कार्यालयमा तोडफोड भएको थियो ।
       स्थानीयहरुको पटक पटकको आग्रहलाई नटेरेपछि छाना र घर निर्माणको खोजीमा कार्यालय नै तोडफोडमा उत्रनु परेको नेकपा माओवादी दोलखाका नवनिर्वाचित उपाध्यक्ष गोपाल पाण्डेले बताएका थिए । गत बुधबार राष्ट्रिय मानवअधिकार आयोगको माननीय सुदिप पाठक सहितको टोलीले सिंगटीमा आवास अधिकारका विषयमा गरिएको अनुगमनमा समेत संरक्षण क्षेत्रको कारण भुकम्पपछिको आवास अधिकार हनन् भएको भन्ने चरम गुनासो आएपछि आयोगले कारवाहीको सिफारिस गरिसकेको जनाइएको छ । नेपाली काँग्रेस दोलखा, नेकपा एमाले दोलखा र नेकपा माओवादी केन्द्र दोलखाले समेत संरक्षण क्षेत्रका प्रमुख शाहको कारण आवासको अधिकार कुण्ठित भएको विज्ञप्तीमार्फत जनाएका छन् ।
         पक्राउ परेका खत्रीलाई अदालतबाट विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा उल्लेख भएको साइबर अपराध अन्र्तगत म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।