रवीन्द्र गौतम । दोलखा
असार १३, दोलखा । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली निकालेर नेपालमा उर्जा संकट कम गर्ने घोषणा गरिरहँदा दोलखाको पूर्वी जिरीमा हावाबाट ५ मेघावाट विजुली निकालिने आयोजना भने ६ बर्षदेखि अलपत्र परेको छ ।
देशले चरम उर्जा संकट बेहोरिरहेको अवस्थामा ६ बर्षअघि अध्ययन भएको ५ मेघावाट क्षमताको जिरी वायु उर्जा
प्रवर्तक कम्पनीले काम अगाडी नबढाउँदा ६ बर्षदेखि अलपत्र परेको हो । नेपाल इन्टरनेशनल रिन्युएबल पावर कर्पोरेसनले २०६७ बैशाख १८ गते लाइसेन्स नम्बर ५५२ मार्फत बायु उर्जा उत्पादनको सर्भेक्षण अनुमति प्राप्त गरे पनि हालसम्म काम अगाडि नबढाएको विद्युत विकास विभागले जनाएको छ ।
तत्कालीन जिरी गाविस हाल जिरी नगरपालिकाको खावा डाँडा आसपासमा कर्पोरेसनले ५ मेघावाट बायु उर्जाको सम्भाव्यता अध्ययन गरी अनुमतिपत्र समेत लिएको विभागले जनाएको छ । काठमाण्डौको कपनमा केन्द्रीय कार्यालय रहेको कर्पोरेसनले २०६७ बैशाख १८ गतेबाट आयोजनाको काम सुरु गर्ने गरी सर्भेक्षण अनुमति पत्र नं. ५५२ मार्फत अनुमति पाएकोमा हालसम्म अलपत्र रहेको हो ।
लाइसेन्स मात्र ओगटेर राख्ने झोलाका खोला छानी छानी खारेज गरिरहेको विभागले भने सर्भेक्षण अनुमति पत्रको म्याद सकिएको ५ बर्ष वितिसक्दा समेत कर्पोरेसनको लाइसेन्स खारेज गरेको छैन । जिरी नगर उद्योग वाणिज्य संघका अध्यक्ष मधुकुमार कार्कीले आयोजनाले काम सुरु गरे सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
