Wednesday, June 8, 2016

दोलखामा ५ दिने राष्ट्रिय नाटक महोत्सव सुरु

रवीन्द्र गौतम । दोलखा

जेठ २६, दोलखा । ‘सौन्दर्य, कला र संस्कृति सभ्यताको मूल आधार’ भन्ने मूल नाराका साथ दोलखाको सदरमुकाम चरिकोटमा ५ दिने राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ ।
                   नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दोलखाको सदरमुकाम चरिकोटस्थित सिमपानी
हलमा आज बुधबारबाट ५ दिने राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । नाटक महोत्सवमा ७ जिल्लाका सहभागीले ९ ओटा नाटक निशुल्क प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यो सहित दोलखामा दोस्रो पटक राष्ट्रिय नाटक महोत्सव आयोजना भएको हो । नाटक २०७३ जेठ २६ गतेदेखि ३० गतेसम्म प्रदर्शन हुनेछ ।
                        नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा शुरु भएको नाटक महोत्सवको उद्घाटन नाटकको रुपमा पेङ दोर्जे नामक नाटक प्रदर्शन गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य मदनदास श्रेष्ठले बताए । करिब रु. १५ लाख लागतमा आयोजना गरिएको महोत्सवमा १ सय ५० नाटकमध्येबाट छनौट भएका ८ र आयोजक दोलखा जिल्लाको निम्फा समूहको १ गरी ९ ओटा नाटक प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
                   महोत्सवमा दोलखाबाट बिहेको चटारो, काभ्रेपलाञ्चोकबाट पेङ दोर्जे, इलामबाट देवाङ्सी राजा, काठमाण्डौंबाट आहार्या र सखी, जनकपुरबाट उधार जुत्ता, मोरङबाट जिउँदो आकाश र महादेवको बाजी तथा  मकवानपुरबाट केरमेट सपना नामक नाटकहरु प्रदर्शन गरिने कार्यक्रम छ ।
               नाटक महोत्सवको एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री आनन्द पोखरेलले उद्घाटन गरे । उद्घाटन समारोहको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्तले अध्यक्षता गरेका थिए ।