Sunday, June 12, 2016

दोलखाको एनसेल टावरमा आगजनी, रु. ७ लाख क्षति

रवीन्द्र गौतम । दोलखा

जेठ ३०, दोलखा । पूर्वी दोलखाको भीरकोट–४, गैरीबेँसी स्थित एनसेल मोबाइलको रिपिटर टावरमा गए राती आक्रमण भएको छ ।
         आक्रमणबाट टावरमा प्रयोग गरिने जेनेरेटरमा पूर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
टावर सञ्चालनको लागि व्याकअपको रुपमा प्रयोग गरिएको १५ केभी
क्षमताको जेनेरेटर पुर्णरूपले ध्वस्त भएको दोलखा प्रहरीका निरिक्षक विनोद सु्नुवारले बताए । पेट्रोल छर्केर जेनेरेटरमा आगजनी गरिएको भए पनि टावरले आफ्नो काम गरिरहेको निरिक्षक सुनुवारले बताए ।
           आगजनीले जेनेरेटर, त्यसको भएको इन्धन, जेनेरेटर हब, केही केवलहरु र जेनेरेटर स्वीचिङमा क्षति पुग्दा करिब रु. ७ लाख बराबरको क्षति भएको एनसेलका एक फिल्ड कर्मचारीले जानकारी दिए । घटनाको माओवादीले जिम्मा लिएको छ । एनसेल नेपालले राज्यलाई विभिन्न शीर्षकको रु. ३९ अर्बभन्दा बढी रकम कर नतिर्न विभिन्न बहानाबाजी गरिरहेकोले तह लगाउन आक्रमण गर्नु परेको विप्लव माओवादी दोलखाले जनाएको छ । दुरसञ्चार प्राधिकरणको एक प्रतिवेदनअनुसार सर्वसाधारणलाई भने अनेकाँै अफरबाट लुट मच्चाउने गरेको आरोप छ ।