Sunday, December 11, 2016

प्रत्येक महिना दोलखामा एकजनाको जबरजस्ती करणी


रवीन्द्र गौतम । दोलखा

मंसिर २७, दोलखा । पछिल्लो ४ आवको तथ्याङ्कअनुसार दोलखामा प्रत्येक महिना एक जना महिलाको जवरजस्ती करणी हुने गरेको पाइएको छ ।
       आर्थिक वर्ष २०७०÷७१ देखि २०७३÷७४ को प्रथम चौमासिकसम्म दोलखामा ३६ जना महिला तथा बालिकालाई जवरजस्ती करणी गरेको पाइएको हो । आर्थिक वर्ष २०७०÷७१ मा ९ जना, आव २०७१÷७२ मा ९ जना, आव २०७२÷७३ मा १५ जना र  आव २०७३÷७४ को पहिलो चौमासिकमा ३ जना महिला जबरजस्ती करणीमा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।
  प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढि आमविनासकारी भुकम्प गएको साल आर्थिक वर्ष २०७२÷७३ मा १५ जनाको जबरजस्ती करणीमा परेका छन् । तथ्याङ्कअनुसार एकवर्षमा यो संख्यामा बलत्कृत भएको पहिलो हो । विनासकारी भुकम्पका कारण सम्पूर्ण घरहरु ध्वस्त भएर सामुहिक र असुरक्षित आवासमा बसोबास गर्नु परेको कारण उल्लेख्य मात्रामा बालिकादेखि महिलासम्म जबरजस्ती करणीमा परेको केही अध्ययनहरुले देखाएको छ ।
         बैशाख महिनादेखि असोजसम्म सबैभन्दा बढि बलात्कारका घटना हुने गरेको पाइएको छ भने साउनमहिनामा सबैभन्दा बढि बलात्कारको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । १३ वर्षदेखि ७३ वर्षसम्मका पीडकहरुले ३ बर्षिय बालिकादेखि ६० बर्षिय ज्येष्ठ नागरिकसम्मलाई जबरजस्ती करणी गरेको प्रहरीको तथ्याङ्क छ । जबरजस्ती करणी हुनेहरुमा ९० प्रतिशतसम्म विद्यार्थीहरु रहेका छन् भने कृषक र ज्यालामजदुरी गर्नेसम्म रहेका छन् ।
            प्रहरीले ३६ ओटा बलात्कारका घटनामा संलग्न ३५ जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया बढाएको थियो भने ६ जना अझै फरार रहेका छन् । पक्राउ परेकाहरुमध्ये अधिकांस पुर्पक्षको लागि थुनामा छन् भने केहीले १६ वर्षसम्म कैद सजाय पाइरहेको प्रहरीले जनाएको छ ।

Sunday, December 4, 2016

एलडीओको कारण दोलखाको २७ प्रतिशत योजना सम्झौता हुन सकेन


रवीन्द्र गौतम । दोलखा

मंसिर २०, दोलखा । गाउँको आवश्यकता उपर छलफल गरी उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न दिएको निवेदनको स्थानीय विकास अधिकारी (एलडीओ)ले प्रक्रिया अघि नबढाउँदा २७ प्रतिशत योजनाहरु सम्झौता हुन सकेको छैन ।
       सम्पूर्ण प्रक्रिया पुर्याएर दिएको निवेदनलाई दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले प्रक्रिया अघि नबढाएको कारण र एक साथ ४ जना प्राविधिकलाई तालिममा पठाएको कारण निवेदन दिएको २७ प्रतिशत योजनाहरु सम्झौता हुन नसकेको हो । सम्झौताको लागि निवेदन दिएको ७५ ओटा उपभोक्ता समितिका पदाधिकारी सहित सदस्यहरुले एलडीओको कारण योजना सम्झौतामा ढिलाई भइरहेको आरोप लगाएका छन् ।
              उपभोक्ताहरुले लगाएको आरोप र योजना सम्झौताको विषयमा सञ्चारकर्मीहरुले एलडीओसँग प्रतिक्रिया माग्दा आलटाल गर्नुको साथै पछि कुरा गर्ने भन्दै पन्छिएका छन् । जिविस दोलखाले

Monday, November 28, 2016

दोलखावासीले पाउने माथिल्लो तामाकोशीको शेयर फागुनमा आउँदै


रवीन्द्र गौतम । दोलखा

मंसिर १४, दोलखा । विभिन्न अबरोधको कारण २ पटकसम्म सरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखावासीबाट संकलन गर्ने भनेको शेयर फागुनसम्म जारी गर्ने भएको छ ।
              वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना प्रभावित दोलखावासीबाट संकलन गरिने १० प्रतिशत शेयर आयोजनाले चालु आवको फागुनसम्ममा जारी गर्ने भएको हो ।

Wednesday, November 23, 2016

दोलखामा २ सय ५१ किमी प्रसारण लाइन निर्माण हुँदै

रवीन्द्र गौतम । दोलखा

मंसिर ९, दोलखा । जलविद्युतको राजधानी भनेर चर्चा कमाउँदै आइरहेको दोलखामा २ सय ५१ किलोमिटर प्रशारण लाइन निर्माण हुने भएको छ ।
            निर्माणाधिन र निर्माण सम्पन्न गरेर नियमित विद्युत उत्पादन गरिरहेका दोलखाका १८ जलविद्युत आयोजनाहरुद्धारा विद्युत प्रसारणको लागि २ सय ५१ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने भएका हुन् । ३३ केभीदेखि ४ सय केभी क्षमताको प्रसारण लाइन दोलखामा निर्माण हुने विद्युत विकास विभागका सूचना अधिकारी बाबुराजा अधिकारीले जानकारी दिए ।
              विद्युत विकास विभागले निर्माण लाइसेन्स प्रदान गरेको ४ ओटा प्रसारण लाइन योजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्माण गरिरहेको २२०/१३२ केभी क्षमताको ४७ किलोमिटर लामो प्रसारण लाइनको निर्माण करीब ६६ प्रतिशत सम्पन्न

Saturday, November 19, 2016

बार्षिक साढे ३ हजार दोलखाली वैदेशिक रोजगारमा

रवीन्द्र गौतम । दोलखा

मंसिर ५, दोलखा । पहाडी दोलखा जिल्लाबाट बार्षिक करिब साढे ३ हजार दोलखाली खाडी लगायत विभिन्न तेस्रो मुलुकमा वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ ।
         वैदेशिक रोजगार विभागको प्रतिवेदनअनुसार दोलखाबाट खाडी लगायत विभिन्न तेस्रो मुलुकमा वैदेशिक रोजगारमा जाने महिला तथा पुरुषहरुको संख्या ३ हजार २ सय ११ पाइएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२÷०७३ मा जिल्लाबाट वैदेशिक रोजगारमा जाने महिला तथा पुरुषहरुको संख्या १ दशमलब ७२ प्रतिशत रहेको पाइएको हो । विभागले भारत र भारतहुँदै खाडी लगायत तेस्रो मुलुकमा जानेहरुको तथ्याङ्क समावेश नगरेको जनाएको छ ।
          जिल्लाको कूल जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ मध्ये ३ हजार २ सय ११ जना विभिन्न २० गन्तव्यमा रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७२÷०७३ मा महिला ४ सय ७७ र पुरुष २ हजार ७ सय ३४ रहेको छ । रोजगारीका लागि विदेशिनेमध्ये सबैभन्दा बढि साउदी अरेवियाण्मा ९ सय २८ रहेका छन् भने सबैभन्दा कम कंगो, पोर्चुगल, अल्जेरिया र अफगानिस्तानमा एक÷एक जना गएको तथ्याङ्क छ ।
            खाडी मुलुकको संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, कतार, ओमन र साउदी अरेविया बाहेक विकसित देशहरुको रोजगारीमा समेत दोलखाली पुगेको तथ्याङ्क छ । साइप्रस, जापान, जोर्डन, मकाउ, पोल्याण्ड, हङकङ, चेक रिपब्लिकजस्ता विकसित देशहरुमा पनि दोलखालीहरु रोजगारीमा पुगेको विभागको तथ्याङ्कले देखाएको छ । दोलखालीहरु रोजगारीका लागि द्वन्द्वग्रस्त देश अफगानिस्तान, कंगो जस्ता देशहरु समेतमा पुगेको विभागको तथ्याङ्क रहेको छ ।
विभागको तथ्याङ्कअनुसार बैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (युएई)मा सबैभन्दा बढि महिला २ सय २५ जना गएको देखिएको छ भने मलेसियामा ३६, कुवेतमा १५, कतारमा २१, साइप्रसमा ५७, टर्कीमा १०, जोर्डनमा ५१, साउदी अरेवियामा ४७, मकाउ तथा चेक रिपब्लिका २÷२ र रोमानियामा १ जना गत आवमा गएको विभागको तथ्याङ्कले देखाएको छ ।
            बैदेशिक रोजगारमा गएकाहरुबाट दोलखामा मासिक रु. २० करोड रेमिट्यान्स भित्रिने गरेको तथ्याङ्क छ । सबैभन्दा बढी रेमिट्यान्स मलेसिया, साउदी अरब, दुबई र कतारबाट भित्रिने गरेको सम्वद्ध व्यवसायीहरु बताउँछन ।
             जिल्ला प्रशासन कार्यालय दोलखाको अनुसार दैनिक करिब २२ ले राहदानीको आवेदन दिने गरेका छन् भने बार्षिक करिब ८ हजार राहदानी जारी गर्ने गरेको छ । प्रशासन कार्यालयको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकसम्म करिब २ हजारले राहदानी बुझिसकेका छन् । त्यस्तै द्रुत राहदानी प्राप्तिको लागि करिब १ हजार ५ सयले सिफारिस लिएको राहदानी जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सरकारले युवाहरुलाई व्यवसायिक कृषि खेती लगायतका लागि अनुदान दिने भनिएता पनि दैनिक करिब २२ युवाहरु वैदेशिक रोजगारीमा जान राहदानीको लाममा बसेका पाइन्छन् ।

Thursday, November 17, 2016

दोलखा जिविसको बेरुजु रु. १२ करोड ३० लाख

सबैभन्दा बढि इन्धन, प्रविधि, छपाई, मर्मत, भ्रमण भक्तामा बेरुजु

रवीन्द्र गौतम । दोलखा

मंसिर २, दोलखा । महालेखा परीक्षकको कार्यालय काठमाण्डौंले सार्वजनिक गरेको आर्थिक वर्ष २०७१÷०७२ सम्म जिल्ला विकास समिति दोलखाको बेरुजु रु. १२ करोड ३० लाख पुगेको छ ।
        केही समय अघि महालेखा परीक्षकको कार्यालय काठमाण्डौंले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु. ९१ करोडको लेखापरीक्षण गर्दा बेरुजु रु. १२ करोड ३० लाख ५ हजार पुगेको हो । जिविस दोलखाको बेरुजु कूल लेखापरीक्षण रकमको १३ दशमलब ५० प्रतिशत देखिएको महालेखा परीक्षकको कार्यालय काठमाण्डौले जनाएको छ ।
               जिविस दोलखाको हालसम्मको बेरुजु रकम चालु आबको दोलखाको ४ ओटा सरकारी कार्यालयको कूल बार्षिक बजेट बराबर रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । जिविस दोलखाले आव २०७२÷०७३ मा कूल बजेटको ७० दशमलब १२ प्रतिशत बजेट समेत फ्रिज पठाएको थियो । जिविस दोलखाको गत आबको मात्र बेरुजु रु. १ करोड ५६ लाख ४६ हजार रहेको महालेखापरिक्षकको कार्यालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।
                बेरुजु रकमहरुमा सबैभन्दा बढि इन्धन, प्रविधि, छपाई, मर्मत, भ्रमण भक्ता लगायतको रहेको महालेखाले जनाएको छ । योजना बाहेक, सरकारी अनुदान, आन्तरिक स्रोत, राजश्व, धरौटी र अन्य शीर्षकमा समेत बेरुजु देखिएको छ । दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले उल्लेखनीय मात्रामा बेरुजु घटाउने अभियानको लागि बेरुजु फछर्योट सम्वन्धी तालिका निर्माण भईरहेको बताए ।

Wednesday, November 16, 2016

दोलखामा ‘रेड किवी’को परीक्षण सफल


रवीन्द्र गौतम । दोलखा

मंसिर २, दोलखा । औषधीय गुण र अफ सिजनमा फल पाक्ने विशेषताले भरिएको फल ‘रेड किवी’को परीक्षण दोलखामा सफल भएको छ ।
  आर्थिक वर्ष २०७१÷०७२ देखि दोलखाको बोच गाविसस्थित शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रले सुरु गरेको ‘रेड किवी’को परीक्षण उत्पादन सफल भएको हो । नार्कका बरिष्ठ बैज्ञानिक डा. सूर्य पाण्डेले काब्रेपलाञ्चोक जिल्लाको पातलेखेतमा गरिरहेको खेतीबाट ५० बोटबाट विरुवा ल्याएर गरिएको परीक्षण उत्पादन सफल भएको शितोष्ण फलफूल रुटस्टक विकास केन्द, बोचका कृषि प्राविधिक गुणराज पौडेलले जानकारी दिए ।
सामान्य किवीभन्दा २ महिना अघिनै खान योग्य हुने ‘रेड किवी’लाई दोलखाको १ हजार २ सयदेखि १ हजार ७ सय मिटरको उचाईसम्म खेती गर्न सकिने परीक्षणबाट देखिएको कृषि प्राविधिक पौडेलले जानकारी दिए । अरु किवीभन्दा सानो, छिटो पाक्ने, असाध्यै स्वादिलो र असोजमै पाक्ने ‘रेड किवी’ रोपेको तेस्रो वर्षबाट उत्पादन दिने परीक्षणले देखाएको छ ।
५–५ फिटको फरकमा ३–३–३ फिट लम्बाई, चौडाई र गहिरो बनाएर एक रोपनी जमिनमा १५ ओटा पोथी र ३ ओटा भाले जातको विरुवा रोप्न सकिने प्राविधिकहरुको अनुभव रहेको छ । करिब ४० वर्षसम्म उत्पादन दिने ‘रेड किवी’को प्रत्येक बोटमा ३० देखि ५० केजी फल फल्ने कृषि प्राविधिक पौडेलले जानकारी दिए ।

Monday, November 14, 2016

दोलखाको बिरुवाबाट जाली नेपाली नोटसहित एकजना पक्राउ

रवीन्द्र गौतम । दोलखा

कात्तिक ३०, दोलखा । जाली नेपाली नोटसहित दोलखाको बिरुवाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
    मंगलबार बिहान भीमेश्वर नगरपालिका–८, बिरुवास्थित किरातेश्वर पेट्रोल पम्पबाट किरातीछाप प्रहरीको गस्ती टोलीले मेलुङ गाविस वडा नं. ४, दोलखा निवासी कुमार नेपालीलाई जाली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका नेपालीको साथबाट हजार दरका २ थान नेपाली जाली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।
     
पक्राउ परेका नेपालीको साथबाट ग६ १५१२३० र घ३७ ६८३०४९ नम्बरको जाली हजारको नोट बरामद गरेको प्रहरीले जनाएको छ । किरातीछाप प्रहरीले नेपालीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको बुझिएको छ ।

दोलखामा ‘एक विद्यार्थी पढाऊ अभियान’अन्र्तगत २ जनालाई छात्रवृत्ति प्रदान

रवीन्द्र गौतम । दोलखा

कात्तिक २९, दोलखा । सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले सुरु गरेको एक विद्यार्थी पढाऊ अभियानअन्र्तगत आज सोमबार एक कार्यक्रम वीच २ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
       गरीब, विपन्न, अतिपिछडिएको तथा सिमान्तकृत परिवारबाट उच्च शिक्षा हासिल गर्न क्याम्पसमा भर्ना भएकाहरुमध्येबाट क्याम्पस व्यवस्थापन समितिको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको हो ।
          छात्रवृत्ति प्राप्त गर्नेमा भीमेश्वर नगरपालिका–६ निवासी व्यवस्थापन संकायको १२ कक्षामा अध्ययनरत छात्रा सरु श्रेष्ठ र ओराङ गाविस निवासी शिक्षा संकायको १२ कक्षामा अध्ययनरत मोहन तमाङलाई जनही ७ हजार ५ सयको दरले छात्रवृत्ति प्रदान गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । नाम्दु–१ जन्मथलो भएर राजधानी काठमाण्डौंमा बौद्धिक अपाङ्गता भएका मानिसहरु बारे काम गर्दै आएकी सोविता उप्रेतीले सोमबार एक कार्यक्रम विच सो राशीको छात्रवृत्ति प्रदान गरेकी हुन् ।
          क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले क्याम्पसमा प्राविधिक विषयलाई समेत अध्यापन सुरु गर्नु पर्ने र त्यसको लागि सम्पूर्ण व्यवसायीको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

Wednesday, November 9, 2016

दोलखामा एकादशीको फूल तार्न गएका एकजनालाई कोशीले बगायो

स्थानीय सहित रामेछाप र दोलखाका प्रहरीद्वारा खोजी जारी


रवीन्द्र गौतम । दोलखा

कात्तिक २५, दोलखा । दक्षिणी दोलखाको भेड्पु गाविसमा पर्ने तामाकोशीमा एकादशीको फूल तार्न गएका एकजनालाई कोशीले बगाउँदा बेपत्ता भएका छन् ।
भेड्पु–२, बगुवाबेंशी क्षेत्रमा पर्ने तामाकोशीमा एकादशीको फूल तार्न गएका भेड्पु–२, बाबियोखर्क निवासी वर्ष ४७ का बद्रीविक्रम भण्डारीलाई बिहिबार बिहान करिब ११ बजे तामाकोशीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । स्थानीयलाई उददृत गर्दै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बाबियोको डोरीलाई कोशीपारी पु¥याउन पौडिने क्रममा भण्डारीलाई बगाएको जनाएका छन् । कोशीले बगाएका भण्डारीलाई स्थानीयहरु सहित दोलखाका प्रहरीले रामेछापको प्रहरीसँग समन्वय गरेर खोजी कार्य अघि बढाएको प्रहरी निरीक्षक सुनुवारले जानकारी दिए ।

Tuesday, November 8, 2016

प्रधानमन्त्री दाहालद्वारा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण, निर्धारित समयभन्दा अघि निर्माण सके सरकारद्वारा पुरस्कारको घोषणा


रवीन्द्र गौतम । दोलखा

कात्तिक २३, दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
               दोलखाको लामाबगर गाविसमा निर्माणाधिन आयोजनाको निरीक्षण गर्न आज मंगरबार लामाबगर आएका प्रधानमन्त्री दाहालले आयोजनाको काम निर्धारित समयमै सक्न निर्देशन दिएका हुन् । २०७२ सालको आमविनासकारी भुकम्प र त्यसको पराकम्प तथा भारतीय नाकाबन्दीले थिलथिलो बनेको आयोजनाले गति लिन सुरु गरेसँगै प्रधानमन्त्री दाहालले चासो सहित निरीक्षण गरेका हुन् ।
              आयोजनाको स्थलगत निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले निर्धारित समयमै काम सम्पन्न गरे कर्मचारी र ठेकेदारलाई सरकारद्वारा पुरस्कार दिने घोषणा समेत गरे । सरकारद्वारा आयोजनामा लगानी गरिएको साढे ११ अर्ब ऋणलाई अतिविपन्न परिवार, सहिद तथा बेपत्ता परिवारलाई सेयरको रुपमा रुपान्तरण गर्न गृह कार्य गरि रहेको प्रधानमन्त्री दाहालले खुलासा गरे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ सम्मिलित छलफलमा ८७ मेगावाट क्षमताको तामाकोशी–५ र २५ मेगावाट रोल्वालिङ डाइभर्सन तत्काल सुरु गर्न निर्देशन दिँदै सरकारको आवश्यक सहयोग हुने प्रतिवद्धता समेत दोहो¥याए ।
            निरीक्षण भ्रमण रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङले प्रस्ताव गरेको दोलखाको लामाबगरदेखि तिब्बतको फलाक जोड्ने सडक निर्माण सुरु गर्न मन्त्री परिषद्को निर्णय आवश्यक परेको जिकिरमा प्रधानमन्त्री दाहालले सरकारले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भूमिगत विद्युत गृह, मुख्य सुरुङहरु र बाँधस्थलको निरीक्षण गरे ।
            राष्ट्रिय गौरवको स्वदेशी पूँजीमा लामाबगर गाविसमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको छ । आयोजना सम्पन्न गर्न ३५ अर्ब २९ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको भए पनि विभिन्न कारणले लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको छ ।

Monday, November 7, 2016

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न


रवीन्द्र गौतम । दोलखा

कात्तिक २२, दोलखा । राष्ट्रिय गौरवको स्वदेशी पूँजीमा दोलखाको लामाबगर गाविसमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको छ ।
    २०६८ सालबाट निर्माण सुरु भएको आयोजना २०७४ असारसम्म निर्माण सम्पन्न हुनु पर्नेमा २०७२ सालको आम विनासकारी भुकम्प, निरन्तरको पराकम्प र भारतीय नाकावन्दीले प्रतिकूल असर गरेको आयोजनाले कार्यप्रगति प्रतिवेदनअनुसार ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको हो । विभिन्न ४ लट गरी निर्माण सुरु गरेको आयोजनाको ८२ प्रतिशत लक्ष्य हासिल गर्दा कूल रु. ३१ अर्ब ८४ करोड खर्च भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आयोजना निर्माणको लागि रु. ३५ अर्ब २९ करोड बजेट विनियोजन गरिएको भए पनि विभिन्न कारणले लागत बढेर रु. ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको छ ।
    आयोजनामा लट–१ को मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न गरेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेकाअनुसार सिभिल निर्माण कार्य अन्र्तगतको बाँध निर्माण ८५ प्रतिशत, मुख्य सुरुङ ८१ प्रतिशत,  टेलरेस सुरुङ शतप्रतिशत, अडिट लगायत अन्य सुरुङ ९९ प्रतिशत, भूमिगत विद्युतगृह तथा ट्रान्सफर्मर क्याभर्न कंक्रिट कार्य ८८ प्रतिशत कार्य पुरा भएको छ ।
           लट–२ को इलेक्ट्रोमेकानिकलले पनि बाँधस्थलमा गेट हबसम्वन्धी कार्यहरु करिब ५५ प्रतिशत पुरा भएको छ भने पावर हाउसमा ट्रान्सफर्मरको पाइपीङ कार्यहरु अन्तिम चरणमा पुगेको छ । लट–३ मा पर्ने हाइड्रोमेकानिकल अन्तर्गत टर्वाइनका पार्टसहरु आयोजनास्थल पुगि ‘डेभलपिङ’ कार्य भैरहेको आयोजनाले जनाएको छ ।
           आयोजनाको लट–४ अन्र्तगत पर्ने विद्युत प्रसारणको लागि २२०÷१३२ केभीको प्रसारण लाइन भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले सुरु गरेको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भएको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । केइसीले गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लाइन प्रशारण गर्ने १ सय २७ ओटा टावरमार्फत ६४ ओटा टावर निर्माण सम्पन्न, थप ३० ओटा टावरको जग खन्ने कार्य सम्पन्न गरिसकेको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए ।
   लट–१ को ठेकेदारले भूकम्पले क्षतिग्रस्त भएको प्रवेशमार्ग अन्तर्गत काभ्रे भीरमा ३ सय ३० मिटर लम्बाइ हुने सुरुङमार्गको गत असारदेखि सुरु गरी शुक्रबारसम्म २ सय ७२ मिटर खन्ने कार्य सम्पन्न गरेको छ । सुरुङमार्गको निर्माण सम्पन्न भए पछि बाँधस्थलको विभिन्न थप कार्य गर्न सकिने आयोजनाले जनाएको छ ।

Sunday, November 6, 2016

दोलखामा ३ जाति संरक्षित, ६ स्वायत्त वडा, २ नगरपालिका सहित ९ पालिकाको अन्तिम सिफारिस

रवीन्द्र गौतम । दोलखा

कात्तिक २१, दोलखा । जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको सहमतिमा दोलखा जिल्लालाई २ नगरपालिका सहित ९ पालिकाको संरचना रहने गरी स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति दोलखाले अन्तिम सिफारिस गरेको छ ।
               जिल्ला विकास समितिको कार्यालयमा कात्तिक २० गते शनिबार बसेको सभासद् एवम् जिल्लामा क्रियाशिल राजनीतिक दल सहितको बैठकमा २ नगरपालिका र ७ गाउँपालिका रहने गरी सहमति भए पछि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले सोही अनुसार कार्यान्वयन गर्न स्थानीय निकाय पुर्नसंरचना आयोग समक्ष अन्तिम सिफारिस गरेको हो । स्थानीय तह पुर्नसंरचना आयोगले दोलखाको जनसंख्या र क्षेत्रफलको आधारमा ७ देखि ११ पालिका रहने गरी सिफारिस गर्न सुझाव पठाएकोमा ९ ओटा पालिका सिफारिस गरिएको हो ।
                समितिले आयोगमा गरेको अन्तिम सिफारिसअनुसार ३ जातिलाई संरक्षण, ६ ओटा स्वायत्त वडा, २ ओटा नगरपालिका र ७ ओटा गाउँपालिका रहेका छन् । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले भीमेश्वर र जिरी नगरपालिका तथा विगु, कालिञ्चोक, शैलुङ, मेलुङ, तामाकोशी, वैत्यश्वर र गौरीशंकर गाउँपालिका रहने गरि सिफारिस गरिएको दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले बताए । जिल्लामा २ नगरपालिका र ७ गाउँपालिमा ७५ ओटा वडा सिफारिस गरिएको छ भने थामी, माझी र सुरेललाई संरक्षित जाति प्रस्ताव गर्दै तामाङ, थामी र सुनुवार जातिको लागि ६ ओटा वडालाई स्वायत्त भनि सिफारिस गरिएको छ ।
                विगु गाउँपालिका वडा नं १ र २ लाई तामाङ स्वायत्त, ६ र ८ लाई थामी स्वायत्त त्यसैगरी कालिञ्चोक गाउँपालिका वडा नं. १ लाई पनि थामी स्वायत्त, तामाकोशी गाउँपालिका वडा नं. ७ लाई सुनुवार स्वायत्त वडा सिफारिस गरिएको स्थानीय विकास अधिकारी नेपालले जानकारी दिए । अतिसिमान्तकृत जातिमा सूचीकृत सुरेल जातिलाई पनि गौरीशंकर गाउँपालिका वडा नं. ५ मा संरक्षित जातिको सूचीमा सिफारिस गरिएको छ । स्थानीय तहको केन्द्र राख्ने बिषयमा भने सामान्य बिवाद देखिए पनि सहमतिले नै सिफारिस गरिएको नेपाली कांगे्रस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताएका छन ।
थप तथा विस्तृत जानकारीको लागिः http://ddcdolakha.gov.np/llrc_dolakha_9_unit/

Saturday, October 29, 2016

दोलखाको लागि मन्त्रालयगत प्रथम चरणको बजेट सार्वजनिक, रु. १ अर्ब ८९ लाख

रवीन्द्र गौतम । दोलखा

कात्तिक १३, दोलखा । चालु आव २०७३÷०७४ मा दोलखामा खर्च हुने मन्त्रालयगत प्रथम चरणको बजेट सार्वजनिक भएको छ ।
          २०७३ जेठ १५ गते आएको बजेटलाई राष्ट्रिय योजना आयोगले गत असोज ८ गते दोलखाको मन्त्रालयगत बजेट सार्वजनिक गरेको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १२ मन्त्रालयको प्रथम चरणको बजेटअनुसार दोलखाको बजेट रु. १ अर्ब ८९ लाख ७५ हजार रहेको छ ।
            राष्ट्रिय योजना आयोगले गृह, रक्षा, सामान्य प्रशासन, गरिबी निवारण तथा सहकारी, उर्जा, भूमि सूधार तथा व्यवस्था मन्त्रालय, पशु पंक्षी विकास, सिंचाई, खानेपानी तथा सरसफाई लगायतको मन्त्रालयको बजेट भने सार्वजनिक गरेका छैन ।
              आयोगले सार्वजनिक गरेको दोलखाको चालु आवको बजेटअनुसार कृषि विकास मन्त्रालयबाट चालु र पूँजीगत गरी रु. ६ करोड ४१ लाख ६१ हजार, शिक्षा मन्त्रालयबाट रु. २२ करोड ६२ लाख २६ हजार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रु. १० करोड ५२ लाख ५९ हजार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु. ४ करोड ७१ लाख ६३ हजार, युवा तथा खेलकूद मन्त्रालय रु. १८ लाख ४३ हजार, उद्योग मन्त्रालयबाट रु. ५७ लाख ६२ हजार, शहरी विकास मन्त्रालय रु. ७ करोड २९ लाख ८ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रु. ६९ लाख १५ हजार, वन तथा भूसंरक्षण मन्त्रालयबाट रु. ३३ लाख ८४ हजार, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट रु. २ करोड ६७ लाख ६४ हजार, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट रु. १ करोड ५६ लाख ५३ हजार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट रु. ४३ करोड २९ लाख ३७ हजार बराबरको प्रथम चरणको बजेट सार्वजनिक गरेको हो ।

Friday, October 28, 2016

दोलखाको जिरीबाट अबैध विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

रवीन्द्र गौतम । दोलखा

कात्तिक १२, दोलखा । पूर्वी दोलखाको जिरीबाट अबैध विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अँधेरी–१४, शिवहरी गाउँका २४ वर्षिय रमेश जैशवाललाई अबैध विष्फोटक पदार्थ सहित विहिबार इलाका प्रहरी कार्यालय जिरीले पक्राउ गरेको हो ।
          नजिकिँदो तिहारलाई लक्षित गरी भारतबाट जिरीमा पु¥याइ लुकाई छिपाई विक्रीमा राखिएको अवस्थामा जैशवालको साथबाट करिब ३ केजी विष्फोटक पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विहिबार साँझ कस्मेटिक पसलबाट विक्री गर्दै गरेको अवस्थामा जैशवाललाई पटाका सहित नियन्त्रणमा लिएको जनाएको छ । जैशवालको साथबाट रकेट पटका १० थान, नागिन पटाका ३ प्याकेट, आलुबम ३५ थान, राधेचक्का ८ पिस र फुलझरी ३ थान बरामद गरेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जानकारी दिए ।
              पक्राउ परेको जैशवाललाई इलाका प्रहरी कार्यालय जिरीमा राखेर थप अनुसन्धान गरी रहेको छ भने बरामद गरेको पटाकाहरु शुक्रबार दिउँसो स्थानीयको रोहवरमा नष्ट गरिएको जिरीका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । यस अघि जिल्ला प्रहरी कार्यालय दोलखाले गम्भीर दुर्घटना हुन सक्ने भन्दै स्थानीय सञ्चार माध्यमबाट पटाकाजन्य पदार्थ विक्री र पड्काउन रोक लगाएको थियो ।

Wednesday, October 26, 2016

रेडक्रस दोलखाले वितरण गरेको सोलार गुणस्तरहीन, पीडितहरु आक्रोशित

रवीन्द्र गौतम । दोलखा

कात्तिक १०, दोलखा । नेपाल रेडक्रस सोसाइटी दोलखाले जिल्लाका १८ गाविसका भुकम्पपीडितहरुलाई वितरण गरेको सौर्य टुकी गुणस्तरहीन पाइए पछि पीडितहरु आक्रोशित भएका छन् ।
       वैकल्पीक उर्जा प्रवर्दन केन्द्रले अनुदानमा उपलब्ध गराएको १८ हजार सौर्य टुकीमध्ये १० गाविसमा वितरण गरिएको करिब १० हजार सौर्य टुकीमध्ये करिब २ हजार थान गुणस्तरहीन पाइए पछि पीडितहरु आक्रोशित भएका हुन् । वितरित सौर्य टुकीको व्याट्री चार्ज नहुने र प्यानल समेत फुटेको अवस्थामै वितरण गरिए पछि भुकम्पपीडितहरु रेडक्रसप्रति झन आक्राशित भएका हुन् । इलेक्ट्रोनिक्स व्यवसायीहरुका अनुसार ड्यामेज व्याट्री जवरजस्ती चार्ज गर्न खोजे गम्भीर दुर्घटना समेत हुन सक्ने भएकोले पीडितहरुलाई सजग रहन समेत आग्रह गरेका छन् ।
             रेडक्रस दोलखालाई उत्तरी दोलखाको १८ गाविसमा सौर्य टुकी र सुधारिएको चुल्हो वितरण गर्न वैकल्पीक उर्जा प्रवर्दन केन्द्रले जिम्मा दिएको थियो । रेडक्रस दोलखा सम्वन्धी विभिन्न विषयको भ्रष्टाचारको विषयमा छानवीन चलिरहेको बेला वितरण गरिएको सौर्य टुकी समेत गुणस्तरहीन पाइए पछि पीडितहरु झन मारमा परेका छन् । चंखु, मार्बु, खारे, मिर्गे, चिलंखा लगाएतको गाविसबाट गुणस्तरहीन सौर्य टुकी पाइए पछि फिर्ता गर्नको लागि रेडक्रस दोलखासँग सम्पर्क गरिसकेको पीडितहरुले जनाएको छन् ।
            वैकल्पीक उर्जा प्रवर्दन केन्द्रले गत भदौ महिनाभित्र वितरण गर्ने गरी उपलब्ध गराएको सौर्य टुकी रेडक्रस दोलखाको आन्तरिक कलह र विभिन्न भ्रष्टाचारमा मुछिएको कारण वितरण गर्न सकेको थिएन । अव्यवस्थित भण्डारण र ढुवानी टेण्डर समेत कसैले दाखिला नगरे पछि आन्तरिक रुपमा ढुवानी गर्ने व्यवस्था मिलाइएको एक सदस्यले जानकारी दिए ।
              दोलखाको मार्बु, चंखु, खारे, लामाबगर, गौरीशंकर, लापिलाङ, मिर्गे, लादुक, ओराङ, झ्याँकु, बाबरे, चिलंखा, बिगु, आलम्पु, सुरी, खोपाचागु, बुलुङ, जुँगु गाविसमा सौर्य टुकी र सुधारिएको चुल्हो वितरण गर्ने कार्यक्रम रहेको छ । नेपाल रेडक्रस सोसाइटी दोलखाका कार्यक्रम संयोजक मधुसुदन थापाले भदौमा आएको सामान भएकोले नचलाइ राखेपछि ड्यामेज भएको स्वीकार गरेका छन् । कार्यक्रम संयोजक थापाले ‘जे जस्तो अवस्थामा छ सोही अवस्थामा वितरण नगरि नहुने भएकोले त्यस्तो वितरण गरिएको’ जानकारी दिए । 
             जिल्ला उर्जा तथा वातावरण शााखाले जिल्ला दैवी प्रकोप उद्धार समिति दोलखाको बैठकमा समेत रेडक्रसले सौर्य टुकी वितरण गर्न ढिलाई गरेको विषयमा जानकारी गराएको थियो । सुनुवाई हुन नसकेको कारण पीडितहरुले उज्यालोको नाममा गुणस्तरहीन सौर्य टुकी बुझ्न बाध्य भएको प्रति सरोकारवालाहरु आँखा चिम्लिएर बसेका छन् ।

Tuesday, October 25, 2016

दोलखाको लाकुरीडाँडा गाविसबाट मात्रै ५ करोडको बन्दाकोभी निर्यात

रवीन्द्र गौतम । दोलखा

कात्तिक १०, दोलखा । दोलखाको पश्चिमी एक गाविसबाट मात्र रु. ५ करोड बराबरको बन्दाकोभी निर्यात भएको पाइएको छ ।
           जिल्लाको पश्चिमी लाकुरीडाँडा गाविसबाट मात्र पछिल्लो ६ महिनामा रु. ५ करोड बराबरको बन्दाकोभी निर्यात भएको पाइएको हो । अर्गानिक तरकारी र आलु उत्पादनमा ख्याती कमाएको लाकुरीडाँडा गाविसबाट मात्र चालु मौषमको ६ महिनामा सो बराबरको बन्दाकोभी निर्यात भएको किसानहरुले जनाएका छन् ।
        लाकुरीडाँडा–७, ८ र ९ तथा अन्य वडाका करिब २ सय किसानहरुले दैनिक करिब १ सय २० टन बन्दाकोभी निर्यात गर्नेे गरेको लाकुरीडाँडा–९, झिँगानेका किसान धनबहादुर लामाले जानकारी दिए । किसान लामाका अनुसार सडकमा पु¥याइएको बन्दाकोभी पछिल्लो ६ महिना यता रु. २५ मा विक्री गरिरहेका छन् । लाकुरीडाँडा गाविसको झिँगाने, हलहले, खरिढुङ्गा लगायतको क्षेत्रबाट दैनिक करिब रु. ३ लाख बराबरको बन्दाकोभी राजधानी कालिकाटी तरकारी बजार लगायतका स्थानहरुमा निर्यात हुने गरेको किसानहरु बताउँछन् । सदरमुकाम चरिकोट, मैनापोखरी, जिरी, सिंगटी, मागादेउराली लगायतको स्थानीय बजारहरुमा पनि लाकुरीडाँडाको बन्दाकोभी विक्री हुने गरेको किसानहरु बताउँछन् ।
         केही वर्षसम्म बन्दाकोभीले बजार भाउ नपाएपछि आत्तिएका किसानहरुले मेहनत गरे पछि चालु आवमा मनग्ये आम्दानी लिन पाएको लाकुरीडाँडा–७ कि किसान सोममाया श्रेष्ठले बताइन् । ‘अघिल्लो सिजनमा निकै सस्तोमा विक्री गर्न बाध्य हामीले पोहोरको घाटा समेत उठायौं ।’ किसान श्रेष्ठले बताइन् । लाकुरीडाँडा गाविसका विभिन्न क्षेत्रका करिब ५ हजार रोपनीमा बन्दाकोभी खेती हुने गरेको किसानहरुको अनुमान रहेको छ । बन्दाकोभी विशेषगरी नेपाली बजारमा तरकारी, मम, चाउमिन, बर्गर, अचार लगायतमा प्रयोग हुने गरेको होटल व्यवसायीहरु बताउँछन् ।
          कृषि विकास कार्यालय दोलखाले अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा समेत विकास गरे पछि अघिल्लो आवमा ठूलो मात्रामा आलु समेत निर्यात भएको कार्यालयको तथ्याङ्क रहेको छ । जिल्ला कृषि विकास कार्यालय दोलखाका योजना अधिकृत नेत्रमणी काफ्लेले यस सिजनमा लाकुरीडाँडा क्षेत्रबाट करिब २० हजार टन बन्दाकोभी निर्यात हुन सक्ने जानकारी दिए ।

Sunday, October 23, 2016

कानुन विपरित सञ्चालित दोलखाका ३ फार्मेसी बन्द






















रवीन्द्र गौतम । दोलखा

कात्तिक ७, दोलखा । नेपालको प्रचलित ऐन विपरित सञ्चालनमा रहेको दोलखाको ३ फार्मेसी (औषधि पसल) बन्द गरिएको छ ।
   औषधी व्यवस्थापन विभाग, विजुलीबजार काठमाण्डौंले नियमित अनुगमनको क्रममा ऐन तथा कानुन विपरित सञ्चालित सदरमुकाम चरिकोट, दोलखा बजार र मैनापोखरी गरी ३ स्थानका ३ ओटा फार्मेसी जिल्ला प्रशासन कार्यालय दोलखामार्फत बन्द गराएको हो ।
           सदरमुकाम चरिकोटको पशुपति डाँडास्थित राजाराम खनालको औषधी पसल, भीमेश्वर नगरपालिका–३, स्थित गौरीशंकर जनरल अस्पतालमा खोलिएको सुमित कुमार श्रेष्ठको औषधी पसल र काब्रे–३, मैनापोखरीस्थित प्रेमबहादुर बस्नेतको औषधी पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
           औषधी ऐन २०३५ को दफा १० बमोजिम विपरित हुने गरी सञ्चानमा रहेको भनि औषधी व्यवस्थापन विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको कात्तिक ५ गतेको निर्णयअनुसार बन्द गरिएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका ल्याव टेक्निसियन अधिकृत राजन पोखरेलले कार्यालयलाई त्यस्तो कुनै जानकारी नआएको जनाउँदै अधिकार क्षेत्र नभएकोले जानकारी नदिएको पनि हुन सक्ने अनुमान गरे ।

Friday, October 7, 2016

विना जानकारी दोलखाली आकाशमा उडेको हेलिकप्टरलाई स्थानीय प्रशासनद्वारा खानतलाशी


रवीन्द्र गौतम । दोलखा

असोज २१, दोलखा । स्थानीय प्रशासनलाई विना जानकारी सदरमुकाम चरिकोटमा आकस्मिक अवतरण गरिएको हेलिकप्टरलाई स्थानीय प्रशासनले खानतलासी गरेको छ ।
काठमाण्डौंबाट सिमिगाउँको लागि उडेको ९एन एअर डाइनेस्टीको हेलिकप्टर विना सूचना छिमेकी चीनको सिमावर्ती क्षेत्रतर्फ उडेको कारण आशंका लागि प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको निर्देशनमा सदरमुकाम चरिकोटमा अवतरण गराई खानतलासी गरिएको प्रहरीले जनाएको छ । खानतलासीको क्रममा कुनै पनि शंकास्पद बस्तु नभेटिएको समेत प्रहरीले जनाएको छ । एअर डाइनेस्टीको कर्पोरेटबाट लिखित रुपमा चेक रिपब्लिकको नागरिकलाई सिमीगाउँबाट रेस्क्युको लागि उडान भरेको जनाए पनि स्थानीय प्रशासनले अर्को उडानको लागि अनुमति दिएको प्रहरीले जनाएको छ ।

Tuesday, September 20, 2016

दोलखाको जुँगुमा चट्याङ लाग्दा एकको मृत्यु, एक गम्भिर सहित १० घाइते

रवीन्द्र गौतम । दोलखा

असोज ४, दोलखा । दोलखाको पूर्वी जुँगु गाविस वडा नं. ३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने, एक गम्भिर सहित १० जना घाइते भएको छ ।
          जुँगु–३, हस्पिटल डाँडामा छिमेकीको लाशको सद्गद् गर्दै गरेका मलामीहरुमध्ये जुँगँु गाविस वडा नं. ३ का करिब ३५ वर्षिय मानबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जुँगुँबाट स्थानीय प्रत्यक्षदर्शी प्रदिप केसीले जानकारी दिए ।
             प्रत्यक्षदर्शी केसीका अनुसार जस्तापाताको छानामा बसिरहेका कार्कीको टाउको र जिउ जलेको अवस्था रहेको छ । स्थानीयका अनुसार चट्याङ दिउँसो करिब २ बजे परेको थियो ।
             चट्याङ लागि जुँगु गाविस वडा नं. १ का तुलबहादुर जिरेलको अवस्था गम्भिर रहेको छ भने, अन्य गणेश जिरेल, पदम जिरेल, टिका केसी, सोमबहादुर बस्नेत, बद्री खड्का, रामकुमार जिरेल, दिलमाया जिरेल, जुनकिरी जिरेल, अमृत लामा र कुमार जिरेल घाइते भएको प्रत्यक्षदर्शी केसीले जानकारी दिनुभयो । घटनास्थल छेउमै रहेको जुँगु स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार समेत गर्ने सामग्रीहरु नभए पछि घाइतेहरुलाई उपचारको लागि सदरमुकाम चरिकोट तर्फ ल्याइँदै गरेको स्थानीयहरुले जनाएका छन् । घटनास्थलतर्फ मैनापोखरी प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

संविधान दिवसको अवसरमा दोलखाबाट ३ कैदीलाई आममाफी

रवीन्द्र गौतम । दोलखा

असोज ४, दोलखा । प्रथम संविधान दिवस २०७३ को अवसरमा दोलखा कारागारमा कैद भुक्तान गरिरहेका ३ कैदीले आम माफी पाएको कारागार कार्यालय दोलखाले जनाएको छ ।
   दोलखा कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ७० कैदी मध्ये ३ जनाले संविधान दिवसको अवसरमा असोज ३ सोमबारबाट आममाफी पाएका हुन् । आम माफी पाउनेहरुमा कर्तव्य ज्यान मुद्दाका छिरिङ तमाङ, बहुविवाह मुद्दाका लक्ष्मण घिमिरे र शैलेन्द्र जोशी रहेको दोलखा कारागारका निमित्त जेलर मुकुन्द पन्तले जानकारी दिए । कारागार व्यवस्था विभागको मिति २०७३ असोज २ गतेको, चलानी नं. ३९४ मार्फत प्राप्त पत्रअनुसार बाँकी कैद माफी मिनाहा गरी कैद मुक्त गर्न दिएको आदेश अनुसार ३ कैदी आम माफीमा परेको कार्यालयले जनाएको हो ।
          संविधान दिवस, गणतन्त्र दिवस र विजयादशमीको अवसरमा कारागार ऐन २०१९ को विभिन्न संशोधन अनुसार राष्ट्रपतिको कार्यालयले संविधान दिवस २०७३ मा देशभरबाट आम माफीको घोषणा गरेको ५ सय ३७ जनामध्ये दोलखाबाट ३ कैदीले बाँकी कैद मिनाहा हुने गरी आम माफी पाएको दोलखा कारागारले जनाएको हो । 
   निमित्त जेलर पन्तका अनुसार तोकिएका १२ प्रकारका मुद्दा बाहेकका कैदीहरुमध्येबाट ४० प्रतिशत कैद भुक्तान गरिसकी असल चालचलन भएका कैदीहरुलाई सिफारिस गरिने प्रावधान रहेको छ ।

Saturday, September 10, 2016

दोलखाका २२ सय शिक्षकले कुनै पनि दलको राजनीति नगर्ने भन्दै दिए संयुक्त राजिनामा

रवीन्द्र गौतम । दोलखा

भदौ २५, दोलखा । शिक्षा ऐनको पछिल्लो संशोधित व्यवस्थाले राजनीतिक अधिकार हनन् गरेको भन्दै दोलखाका करिब २२ सय शिक्षकले संयुक्त राजिनामा दिएको घोषणा गरेका छन् ।
     नेपाल शिक्षक महासंघ दोलखाले शनिबार सदरमुकाम चरिकोटमा आयोजना गरेको संयुक्त राजिनामा घोषणा कार्यक्रममार्फत जिल्लाको सामुदायिक विद्यालयमा कार्यरत करिब २२ सय शिक्षकहरुले संयुक्त राजिनामा दिएको घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा आफू आवद्ध पार्टीका सभापति, अध्यक्ष एवम् प्रतिनिधिहरुमार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरी संयुक्त राजिनामा घोषणा गरेका थिए ।
    शिक्षा ऐनको आठौंै संशोधनले शिक्षकहरु कुनै पनि राजनीतिक दलको कार्यकारिणी पदमा कायम रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था गरेकोमा ‘सेवामा रहने, तर राजनीति नगर्ने’ भन्दै राजनीतिक दललाई दबाब हुने गरी संयुक्त राजिनामा घोषणा गरिएको शिक्षकका विभिन्न पेशागत संघ–संगठनले जनाएका छन् ।
    अखिल शिक्षक संगठन (बिप्लब)का अध्यक्ष केशव काफ्ले, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष जीवन चाकुवजी, एकिकृत अखिल शिक्षक संगठनका अध्यक्ष रामबहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष पदम जिरेल र नेपाल शिक्षक संघका उपाध्यक्ष उद्धव खड्का र नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम खरेलले संस्थागत रुपमा आफू आवद्ध राजनीतिक दलबाट संयुक्त राजिनामा घोषणा गरेका थिए ।
   नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम खरेलको अध्यक्षतामा सम्पन्न संयुक्त राजिनामा घोषणा कार्यक्रमलाई महत्व दिएर नेपाली काँग्रेस दोलखामा सभापति रुद्रबहादुर खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष गोपाल पाण्डे लगायतले शिक्षकहरुले पेश गरेका राजिनामा पत्र बुझेको आयोजकले जनाएको छ ।

Tuesday, September 6, 2016

दोलखाको काब्रे गाविसले जिल्लामै पहिलोपटक अनलाइनमार्फत पञ्जिकरण शुरु

रवीन्द्र गौतम । दोलखा

भदौ २२, दोलखा । जिल्लाको पूर्वी काब्रे गाविसले जिल्लामै पहिलोपटक व्यक्तिगत घटना पञ्जिकरण कार्यलाई पूर्णरुपमा अनलाईन सफ्टवेयरमार्फत सुरु गरेको छ ।
              केन्द्रीय पञ्जिकरण विभागद्वारा निर्माण गरिएको अनलाईन सफ्टवेयरमार्फत सेवा सुरु गरिएको जिल्ला विकास समितिको कार्यालय दोलखाले जनाएको छ । जिल्लाको पूर्वी काब्रे गाविसले गत हप्ताबाट व्यक्तिगत घटना दर्तालाई पहिलोपटक अनलाइन सफ्टवेयरमार्फत पञ्जिकरण सुरु गरेको हो । जिल्ला विकास समितिको २२ औं जिल्ला परिषद्बाट जिल्लाका स्थानीय निकायलाई प्रविधिमैत्री बनाउने निर्णयअनुसार अनलाईन सफ्वेयरमार्फत घटना दर्तालाई व्यवस्थित रुपमा सुरु गरिएको पञ्जिकरण शाखाका मधुसुदन आचार्यले जानकारी दिए ।
             जिल्लाको स्थानीय निकायलाई प्रविधिमैत्री बनाइने योजना अनुसार पहिलो चरणमा इन्टरनेट सुविधा सहित १६ ओटा गाविसलाई कम्प्युटर उपलब्ध गराए पछि काब्रे गाविसले पहिलोपटक अनलाइन सफ्टवेयरमार्फत पञ्जिकरण सुरु गरेको हो । जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाई सराईलाई व्यवस्थित गर्न धेरै सहज बनाएको काब्रे गाविसका सचिव नारायण दाहालले जानकारी दिए ।
                उक्त सेवा सुरु भएसँगै सम्पूर्ण व्यक्तिगत घटनाको लगत सफ्टवेयरमार्फत हुने भएको छ । उक्त सेवा सर्वसाधारण जनताहरुले आवश्यक परेको खण्डमा घरमै बसीबसी सम्वन्धित फाराम भरी प्राप्त हुने टोकन नम्बर लिई गाविसको कार्यालयमा गएर आफ्नो घटना दर्ता गराउन सक्ने पञ्जिकरण शाखाका आचार्यले जानकारी दिए । जिल्ला विकास समिति अघिल्लो आर्थिक वर्षबाट सुरु गरेको अनलाईन घटना दर्ता जिल्लाको बाँकी ४७ गाविस र २ नगरपालिकासम्म पु¥याउने लक्ष्य रहेको जनाएको छ ।

Friday, September 2, 2016

सेबक नेपाल दोलखाले खानेपानी तथा सरसफाईमा रु. ११ करोड खर्च गर्ने

रवीन्द्र गौतम ।  दोलखा

भदौ १७, दोलखा । सेबक नेपाल दोलखाले जिल्लाको १४ गाविसको खानेपानी, सरसफाई तथा स्वच्छता पुर्नलाभ सम्वन्धि विभिन्न कार्यक्रममा रु. ११ करोड खर्च गर्ने भएको छ ।
            अमेरिकन जनताको आर्थिक सहयोगमा सेबक नेपाल दोलखाद्वारा दोलखा जिल्लाको १४ गाविसको खानेपानी, सरसफाई तथा स्वच्छता पुर्नलाभ कार्यक्रमका लागि रु. ११ करोड १५ लाख ९० हजार खर्च गर्ने जनाएको हो । जिल्लाको ओराङ, खारे, च्यामा, चिलंखा, जफे, लामाबगर, मिर्गे, बाबरे, बुलुङ, मेलुङ, लामिडाँडा, लादुक, शहरे र क्षेत्रपा गाविसमा खानेपानी मर्मत तथा पुननिर्माण, ५ स्थानमा सार्वजनिक शौचालय निर्माण, स्वास्थ्य तथा स्वच्छता सम्वन्धी समुदाय तथा विद्यालयस्तरमा महिनावारी स्वच्छता व्यवस्थापन सचेतना अभिवृद्धि सहित ३ शीर्षकमा सो बराबरको खर्च हुने सेबक दोलखाले जनाएको छ ।
          समुदायमा खानेपानीको अवस्था सुधार गर्ने, लैङ्गिक मैत्री सार्वजनिक शौचालय निर्माण गर्ने, खानेपानी, सरसफाई तथा स्वच्छताको सुशासन तथा व्यवहारमा परिवर्तन, खानेपानी पूर्वाधारको सुशासनमा सुधार ल्याउने, दिगो सरसफाई प्रवर्दन तथा स्वच्छता कायम गर्ने र व्यक्तिको आनीबानीमा परिवर्तन ल्याउने कार्यक्रमको उद्देश्य रहेको सेवक नेपाल दोलखाका जिल्ला कार्यक्रम प्रवन्धक प्रल्हाद तिमल्सिनाले बताए ।
             १४ गाविसका करिब १० हजार घरधुरीमा ९० ओटा खानेपानीका योजनाहरु मर्मत तथा पुर्ननिर्माण सहित खानेपानीको गुणस्तर परीक्षण गरी प्रत्येक धाराहरुमा पिउन योग्य पानी उपलब्ध गराइने कार्यक्रमको लक्ष्य रहेको छ । जिल्लाको ओराङ र बुलुङ बाहेकका १२ गाविसहरुमा ५६ ओटा खानेपानीका योजनाहरुको सम्भाव्यता अध्ययन समेत सम्पन्न भैसकेको सेबक दोलखाले जनाएको छ । 
             त्यसका साथै दोलखा जिल्लाको सबै गाविस र नगरपालिकाहरुमा खानेपानीको स्रोत पहिचान तथा नक्सांकन जस्तो अति महत्वपूर्ण कार्यक्रम समेत सेवक नेपाल दोलखाले कार्यान्वयन गर्ने बताएको छ । त्यसको साथै जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा विद्यालय तथा अस्थायी सिकाई केन्द्रहरुमा छात्राहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि कार्यक्रम सञ्चालन गरिने योजना रहेको कार्यक्रम प्रवन्धक तिमल्सिनाले जानकारी दिए ।

Wednesday, August 31, 2016

दोलखाको लामाबगरमा पहिरो जाँदा एकै घरको २ को मृत्यु ४ बेपत्ता, मृतकको संख्या ३ पुग्यो

रवीन्द्र गौतम । दोलखा

भदौ १६, लामाबगर, दोलखा । उत्तरी दोलखाको लामाबगर गाविस वडा नम्बर ४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरोले २  घर बगाँउदा एकै घरको २ को मृत्यु भएको छ भने ४ अझै बेपत्ता रहेका छन । पहिरो परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका निरिक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।
मृत्यु हुनेमा लामाबगर–४, छ्योत्छ्योत्का २१ बर्षिय बडुले तमाङ र उनको आमा बर्ष ४० कि पातमायाँ तमाङ रहेका छन् भने घाइते मिनबहादुर ठकुरीको घरमा पसल सञ्चालन गरिरहेकी गौरीशंकर–४, सिमीगाउँका चुडुसाङ्बो तमाङको श्रीमती पेममायाँ तमाङ रहेको प्रहरी निरिक्षक कुर्मीले जानकारी दिए । वेपत्ता हुनेहरुमा बडुले तमाङको पिता बर्ष ४५ का मंगले तमाङ, दिदी  वर्ष २५ कि त्रिसी तमाङ, २ बर्षिय भाई क्षसाङ तमाङ र हजुरआमा वर्ष ७० कि सतमाई तमाङ रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका मिनबहादुर तमाङको अवस्था सामान्य रहेको छ भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सिभिल तर्फको ठेकेदार कम्पनी सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक बर्ष ३६ का बाइजुलियाङलाई भने हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ । गए राति अबिरल परेको बर्षाका कारण करिब ११ बजे पहिरो घाइते मिनबहादुर तमाङले जानकारी दिए ।
घटनास्थलतर्फ प्रहरी चौकी रोल्वालिङ, सिमा प्रहरी चौकी लामावगर, गोंगरमा रहेको नेपाली सेना, शसस्त्र प्रहरी टोली, ईलाका प्रहरी कार्यालय सिंगटी र सहायक प्रमुख जिल्ला अधिकारी प्रहरी नायव उपरिक्षक रविन कार्की लगायतको टोल ी थप मद्दत सहित राहत सामाग्री (त्रीपाल, टेण्ट लगायतका सामाग्रीहरू) समेत लिई घटनास्थल तर्फ पुगेको प्रहरीले जनाएको छ ।

Sunday, August 28, 2016

अरनिको यातायातमा चुनावी सरगर्मी बढ्दै, दोलखाली राजकुमार बस्नेत सचिवमा प्रतिष्पर्धा गर्दै

रवीन्द्र गौतम । दोलखा

भदौ १३, दोलखा । दोलखा, सिन्धुपाल्चोक, रामेछाप र ओखलढुङ्गा लगायतको पूर्वी पहाडि जिल्लाहरुमा यातायात सेवा सञ्चालन गरिरहेको अरनिको यातायात सेवा समितिको ४५ औं साधारणसभालाई चुनावी सरगर्मीले छपक्कै छोपेको छ । आगामी भदौ १५ गतेबाट काभ्रेपलाञ्चोक जिल्लाको सदमुकाम बनेपामा हुने अरनिको यातायात सेवा समितिको चुनावी मैदानमा पूर्व अध्यक्ष केदार क्षेत्रीले समेत उम्मेदवारी दर्ता गराए पछि चुनावी पारो तातेर उच्च विन्दुमा पुगेको हो ।
     समितिमा आवद्ध ५ सय ३१ व्यवसायीहरुबाट करिब ६ सय ५० मतदाता रहेको चुनावी कार्यक्रममा उम्मेदवारी दर्ताको संख्या र तिव्र प्रतिष्पर्धाले चुनावी रन्कोलाई झन रौनकतामा बदलिदिएको सम्वद्ध व्यवसायीहरु बताउँछन् । पूर्व अध्यक्ष केदार क्षेत्रीसँग प्रत्यासी श्याम लामा भिड्दै छन् भने वरिष्ठ उपाध्यक्ष ३ पदका लागि नृपध्वज महत, चित्र कुँवर, केशव भारती लगायतले तिव्र प्रतिष्पर्धात्मक उम्मेदवारी दर्ता गराएका छन् । हरि सुवेदीसँग यस अघि २ कार्यकाल कोषाध्यक्ष रहेका दोलखाका छोरा राजकुमार बस्नेतले सचिवमा प्रतिष्पर्धा गरिरहेको रेडियो भीमेश्वरलाई बताउनु भयो ।
           समितिको सहकोषाध्यक्ष पदमा राम भारती सर्वसम्मत भए पनि कोषाध्यक्ष पदमा मोहन घिमिरे र हरिभक्त श्रेष्ठ विच तिव्र प्रतिष्पर्धा हुने व्यवसायीहरुको आँकलन रहेको छ । सहसचिव १ पदको लागि ३ जना, उपसहसचिव १ पदको लागि २ जना र ६ सदस्यको लागि १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अरनिको यातायात सेवा समितिको निर्वाचनलाई दोलखा लगायत अन्य जिल्लाका समितिहरुले पनि नजिकबाट मूल्याङ्कन गरिरहेको बताइएको छ ।

Saturday, August 27, 2016

विद्युत प्रशारण लाईनको कारण दोलखामा गम्भिर दुर्घटना हुन सक्ने

रवीन्द्र गौतम । दोलखा

भदौ १२, दोलखा । नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाले विस्तार गरेको विद्युत् प्रसारण लाइनको कारण दोलखामा गम्भिर दुर्घटना हुन सक्ने औंल्याइएको छ ।
  प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२÷०७३ को प्रतिवेदनअनुसार कुनै पनि दिन, कुनै पनि क्षण प्रशारण लाईनको कारण गम्भिर दुर्घटना हुन सक्ने औंल्याइएको हो । प्रतिवेदनअनुसार जिल्लाका विभिन्न स्थानहरुमा गाडिएको ४ हजार काठको पोलहरु जिर्ण अवस्थामा रहेको र फेरबदलको लागि कुनै पहल नहुँदा प्राधिकरण दोलखा शााखाले गम्भिर दुर्घटना हुन सक्ने औंल्याइएको हो ।
जिल्लामा ३३ केभी प्रशारण लाइन लामो रहेकोले नियमित विद्युत् आपूर्तीमा समस्या भईरहने, सिंगटी सबस्टेशन चालु हुन नसक्दा ११ केभी प्रशारण लाईन समेत अवरुद्ध हुने गरेको समेत प्राधिकरण दोलखाका लेखा प्रमुख टेकबहादुर श्रेष्ठले जानकारी दिए । जिल्लामा ३३ केभी लाइन १ सय ३१ किलोमिटर, ११ केभी लाइन ३ सय ८३ किलोमिटर र ४००÷२३० भोल्ट लाइन ०५२ किलोमिटर रहेको प्राधिकरण दोलखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जिल्लामा १० आंशिक र ११ पूर्ण रुपले विद्युतिकरण हुन बाँकी गाविस रहेको र २७ गाविस र २ नगरपालिकामा भने राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युतिकरण भएको छ भने समुदायस्तरबाट ४ गाविसमा विद्युतिकरण भएको र ति स्थानहरुमा समेत पोलहरु जिर्ण भए पछि कुनै पनि बेला दुर्घटना हुन सक्ने औंल्याइएको हो ।

दोलखाको घरेलु तथा साना उद्योगको प्रारम्भिक लगानी रु. ३२ करोड

रवीन्द्र गौतम । दोलखा

भदौ १२, दोलखा । जिल्लाको घरेलु तथा साना उद्योगको प्रारम्भिक लगानी रु. ३२ करोड पुगेको छ । आर्थिक वर्ष  २०७२÷०७३ मा ति घरेलु तथा साना उद्योगहरुबाट कूल रु. २८ लाख ३ हजार १ सय ९३ राजश्व समेत संकलन भएको छ ।
    घरेलु तथा साना उद्योग विकास समिति दोलखाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७२÷०७३ को प्रगति प्रतिवेदनअनुसार प्रारम्भिक लगानी रु. ३२ करोड पुगेको हो । घरेलु तथा साना उद्योग विकास समिति दोलखा जिल्लामा दर्ता भएको कूल ४ सय ७५ घरेलु तथा साना उद्योगहरुमा कूल रु. ३२ करोड ६ लाख २८ हजार प्रारम्भिक लगानी रहेको पाइएको हो । समितिमा उद्योगको रुपमा दर्ता भएको २ सय ३४ फर्महरुबाट कूल रु. १६ लाख ८२ हजार १८ र व्यापारको रुपमा दर्ता भएको २ सय ४्र१ फर्महरुबाट रु. ११ लाख २१ हजार १ सय ७५ गरी कूल रु. २८ लाख ३ हजार १ सय ९३ राजश्व संकलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
    जिल्लामा दर्तामा

Thursday, August 25, 2016

काम गरेको पैसा माग्दा जुँगु स्वास्थ्य चौकीका इन्चार्जले कुटे आफ्नै सहकर्मी

रवीन्द्र गौतम । दोलखा

भदौ ९, दोलखा । मेडिकलमा काम गरेको पारिश्रमिक माग्दा दोलखाको जुँगुमा एक स्वस्थ्यकर्मीले आफ्नै सहकर्मीबाट मरणासम्म हुने गरी कुटाई खाएको खुल्न आएको छ ।
  गत ५ गते जुँगु गाविसको स्थानीय स्वास्थ्यकर्मी राजन खड्काले जुँगु स्वास्थ्य चौकीका सहकर्मी दिलिप यादवलाई मरणसम्म हुने गरी कुटपिट गरेको भन्दै मैनापोखरी प्रहरी चौकीमा २ उजुरी परेको खुल्न आएको हो । मैनापोखरी प्रहरी चौकीका इन्चार्ज सब इन्पेक्टर प्रमोद शाहले राजन खड्काविरुद्ध पीडित दिलिप यादव र उनको डेरा भएको घरधनीले छुट्टछुट्टै २ उजुरी दर्ता भएको जनाएका छन् । जुँगुका अहेव राजन खड्का, टहल केसी सहित अन्य ५ जना विरुद्ध उजुरी परेको जनाइएको छ ।
   यता जिल्ला स्वास्थ्य कार्यालय चरिकोट, दोलखाका कार्यालय प्रमुख राजेन्द्र शाहले कुटपिट भएको पुष्टी गरी दुवै पक्षलाई कार्यालयमा हाजिर गराई अनुसन्धान गरि रहेको जनाएको छन् । घाइते यादव घाउजाँच गरी जिल्ला स्वास्थ्य कार्यालयमा हाजिर भएको जनाइको छ । स्रोतका अनुसार अहेब खड्काले आफ्नै घरमा सञ्चालन गरेको मेडिकलमा घाइते यादवले उपचार गरेवापत दैनिक पाउनु पर्ने रु. ५ सयका दरले करिब १४ हजार रुपैयाँको विषयमा विवाद हुँदा कुटपिट भएको हो ।
          स्थानीय सेवाग्राहीहरुको भनाई अनुसार स्वास्थ्यकर्मी यादवले अहेव राजन खड्काको मेडिकलमा काम छोडी स्वास्थ्यचौकीमा नै गुणस्तरिय उपचार सेवा दिन थाले पछि विवाद चर्किएको हो । जुँगुवासीहरुका अनुसार अहेव राजन खड्काले विरामीहरुको उपचारमा चरम लापरवाही गर्ने गरेको र पटक पटक जिल्ला स्वास्थ्य कार्यालयमा सरुवाका लागि आग्रह गर्दा समेत पावरको भरमा टिकिरहेको जनाएका छन् ।

Wednesday, August 24, 2016

तरुण दल दोलखाको पुरा कार्यसमिति

नेपाल तरुण दल दोलखाको चौथो जिल्ला अधिवेसनबाट निर्वाचित जिल्ला तथा क्षेत्रीय कार्यसमिति
  1. अध्यक्ष                                                दावासाङ्गे शेर्पा
  2. उपाध्यक्ष                                             गणेशविक्रम शाही, चित्रवहादुर तमाङ र विदुर कार्की
  3. सचिव                                                 देवेन्द्र अर्याल र चित्रप्रसाद दाहाल
  4. सहसचिव                                           विकास खड्का
  5. कोषाध्यक्ष                                          कृष्ण कुमार लामा
  6. खुला महाधिवेसन प्रतिनिधि                विराजमान श्रेष्ठ
  7. महिला प्रतिनिधि                                भगवती शाही खड्का,
  8. महिला महाधिवेसन प्रतिनिधि              रोचना उप्रेती
  9. आदिवासी महिला महाधिवेसन प्रतिनिधि     आमना शेर्पा
  10. आदिवासी जनजाति महाधिवेसन प्रतिनिधि     गौरब लामा
  11. दलित प्रतिनिधि                                            नवराज रिजाल
  12. अतिविपन्न तथा पिछडिएको बर्ग                  माधव थामी
क्षेत्र नं. १
  1. क्षेत्रीय अध्यक्ष     कामसर्की शेर्पा
  2. उपाध्यक्ष             सुन्दर कार्की
  3. सचिव                  राजकुमार खड्का
  4. कोषाध्यक्ष            विनोद कटुवाल
  5. सदस्य                  इन्द्रबहादुर खड्का
  6. केन्द्रीय प्रतिनिधि     चन्द्रगणेश काफ्ले
क्षेत्र नं. २
  1. क्षेत्रीय अध्यक्ष             ङावा शेर्पा
  2. उपाध्यक्ष                   फुर्वा शेर्पा
  3. सचिव                       अवतारसिंह लामा
  4. कोषाध्यक्ष                 सुकदेव शिवाकोटी
  5. सदस्य                      तिलक चौलागाईं
  6. केन्द्रीय प्रतिनिधि     तिलक थापा

मिलिजुली साकोसले २४ औं स्थापना दिवसमा ५ प्रशिद्ध मन्दिरमा बाँड्यो डस्टविन

रवीन्द्र गौतम । दोलखा

भदौ ७, दोलखा । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा विभिन्न ५ प्रशिद्ध मन्दिरमा डस्टविन वितरण गरेको छ ।
          भदौ ७ अर्थात मंगलबार मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोलखा जिल्लाको प्रशिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर, भीमेश्वर मन्दिर, कोटीहोम यज्ञशाला, पशुपति मन्दिर र महाङ्काल मन्दिरमा २–२ ओटाको दरले १० ओटा डष्टविन वितरण गरेको हो । डष्टविन वितरणको लागि ५ मन्दिरमा छुट्टाछुट्टै कार्यदल निर्माण गरी वितरण गरिएको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिए ।
          साथै स्थापनाकालका संस्थापक सदस्यहरु, वर्तमान सञ्चालक, जिल्ला सहकारी संघ, जिल्ला वचत तथा ऋण सहकारी संघ तथा सञ्चारकर्मीहरुसँग संस्थाको आगामी कार्यदिशा र रणनीतिक योजना बारे अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Tuesday, August 23, 2016

दोलखाको ३६ कच्ची सडकलाई अस्थायी रुट परमिट सिफारिस

रवीन्द्र गौतम । दोलखा

भदौ ८, दोलखा । जिल्लाको ३६ कच्ची सडकमा सवारी सञ्चालनका लागि अस्थायी रुट परमिट दिन जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ ।
         जिल्ला प्रशासन कार्यालय दोलखाले यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी वागमतीमा सोमबार  चलानी नं. ४८८ मार्फत जिल्लाको ३६ ओटा कच्ची सडकलाई अस्थायी रुट परमिट दिन सिफारिस गरेको हो । कच्ची सडकहरुमा सरकारले वस सञ्चालनका लागि इजाजत नदिए पछि दोलखाका दुर्गम क्षेत्रका नागरिकहरुले सास्ती भोग्न बाध्य हुनुपरेको

Monday, August 15, 2016

सिप्रीङखोला जलविद्युत्को सेयरमा अत्यन्त न्यून २५ प्रतिशत मात्र आवेदन, गाविस संख्या र समय थप

रवीन्द्र गौतम । दोलखा

साउन ३२, दोलखा । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको ७ लाख कित्ता सेयरमा स्थानीयहरुले अत्यन्त न्यून लगानी गरेको पाइएको छ ।
              गत साउन १६ गतेबाट आयोजना प्रभावित ६ गाविसका बासिन्दाहरुको लागि निष्काशन गरिएको ७ लाख कित्ता बराबरको इनिसियल पब्लिक अफरिङ (आइपीओ) सेयरमा अत्यन्त न्यून लगानी गरेको पाइएको हो । आयोजना प्रभावित गाविस मानेर उत्तरी दोलखाको गौरीशंकर, खारे, लामाबगर, ओराङ, बुलुङ र लादुक गाविसबाट संकलन गर्ने गरी प्राथमिक सेयर निष्काशन गरिएको थियो ।
            सिभिल क्यापिटल मार्केट लिमिटेडले निश्कासन गरेको आइपीओ अरनिको डेभलपमेन्ट बैंकको सिंगटी शाखा र लामाबगर गाविसको जगतमा आयोजनाका कर्मचारीले सेयर आवेदन फारम संकलन गरेको बुझिएको छ । निष्काशन खुला गरेको १३ दिनमा ६ गाविसका ५ सय ५४ जनाले मात्र सेयर आवेदन गरेको अरनिको डेभलपमेन्ट बैंक सिंगटी शाखाले जनाएको छ । ६ गाविसका करिब २० हजार जनसंख्यामध्ये ५ सय ५४ जनाले कूल रु. १ करोड ७७ लाख मूल्य बराबरको १ लाख ७७ हजार कित्ता सेयर आवेदन गरेको अरनिको बैंक सिंगटी शाखाका प्रवन्धक मणी न्यापानेले जानकारी दिए । यो कूल माग गरिएको सेयर संख्याको २५ प्रतिशत मात्र हो । अरनिको बैंक सिंगटी शाखाले ४ सय ७४ जनाबाट रु. १ करोड ४० लाख र आयोजनाको कर्मचारीले ८० जनाबाट रु. ३७ लाख संकलन गरेको शाखा प्रवन्धक न्यौपानेले जानकारी दिए ।
              आयोजनाले निष्काशन गरेको बराबरको सेयरमा अत्यन्त न्यून आवेदन परेको भन्दै सिप्रीङखोला सरोकार समितिले आयोजना प्रभावितमा मार्बु, चंखु, सुरी र लामिडाँडा गाविस थप गरि साउन ३० मा समाप्त हुने संकलन मिति भदौ १८ गतेसम्म थप गरेको छ । आयोजनाले गौरीशंकर र खारे गाविसलाई निशुल्क उपलब्ध गराएको २५–२५ लाख बराबरको सेयरको प्रमाणपत्र र नाफा नोक्सानको हिसाव समेत उपलब्ध नगराएको गौरीशंकर र खारे गाविसका सचिव खड्गबहादुर आलेले जानकारी दिए ।
          दोलखाको गौरीशंकर गाविसस्थित सिप्रिङ खोलाबाट उत्पादन भइरहेको १० मेगावाट क्षमताको आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि रु. ७ करोड मूल्य बराबरको ७ लाख कित्ता प्राथमिक सेयर (आइपीओ) निष्काशन गरेको थियो ।

Saturday, August 13, 2016

दोलखामा कामदारको ज्याला ८७ र ढुवानीदर ९१ प्रतिशतले बढ्यो

रवीन्द्र गौतम । दोलखा

साउन ३०, दोलखा । जिल्लाको स्थानीयस्तरमा उपलब्ध हुने श्रमसीपको स्तर, श्रमिकको उमेर र दैनिक काम गर्ने अवधिलाई आधार मानेर कामदारको ज्यालामा ८७ र ढुवानीदरमा ९१ प्रतिशतसम्म वृद्धि गरी लागू गरिएको छ । 
           आर्थिक वर्ष २०७३÷०७४ को प्रयोजनको लागि मूल्य अभिबृद्धि कर बाहेक यसअघि प्रतिदिन ८ घण्टाको ज्याला ६ सय ४० रहेकोमा बृद्धि गरी ७ सय ३५ पुगेको छ भने ट्रकद्वारा ५० किलोमिटरसम्मको प्रतिकेजी ढुवानी दर मूल्य अभिवृद्धि करबाहेक १८ रुपैयाँ १५ पैसा रहेकोमा बृद्धि गरेर रु. २० निर्धारण गरिएको हो ।
     सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ अनुसार जिल्ला दररेट निर्धारण समितिको साउन ११ गते बसेको बैठकले आव २०७३÷०७४ का लागि विभिन्न सेवाहरुको ज्याला र ढुवानीदरमा सो बराबरको वृद्धि गरेको हो । समितिले कामदारको ज्यालादर, ढुवानी दर, निर्माण सामग्री र ढुवानीको दररेट, सरकारी कार्यालयमा आवश्यक मालसमानको दर र मेशिन तथा उपकरणको भाडा

भीमेश्वर मन्दिरको दक्षिणा चोरी गर्ने २ बालक पक्राउ

पक्राउ परेका बालकहरुसँगबाट बरामद गरिएको नोट ।
रवीन्द्र गौतम । दोलखा

साउन २९, दोलखा । भीमेश्वर मन्दिरमा राखिएको दान पेटिका फोडेर संकलित दान दक्षिणा चोरी गर्ने २ बालक पक्राउ परेका छन् । 
  चोरी भएको नगद सहित २ बालकलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ति बालकहरुसँग अनुसन्धान गर्दा रातको करिब ८ बजे दानपेटिका फोडी नगद चोरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक विनोद सुनुवारले जानकारी दिए ।
          भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार शुक्रबार विहान सरसफाई तथा नित्य पूजाको क्रममा दानपेटिका फोडेको अवस्थामा फेला परे पछि चोरी भएको थाहा भएको थियो ।
            पक्राउ परेका बालकहरु करिब १३ वर्षका रहेको खुल्न आएको छ । उनीहरुसँगबाट ५ सयको नोट २ थान,  ५० को नोट २ थान, २० को नोट ६० थान, १० को नोट १ सय २३ थान, ५ को नोट २ सय ९१ थान, २ को नोट २ थान, १ को नोट १ थान, २ को सिक्का २ थान, १ को सिक्का ३ थान र भारतीय रुपिया २० को १ थान गरी कूल ५ हजार ३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

Thursday, August 11, 2016

भीमेश्वर मन्दिरमा राखिएको दान पेटिका फोडेर चोरी

रवीन्द्र गौतम । दोलखा

साउन २८, दोलखा । भीमेश्वर मन्दिरमा राखिएको दान पेटिका फोडेर संकलित दान दक्षिणा गए राती चोरी भएको छ ।
           भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार शुक्रबार विहान सरसफाई तथा नित्य पूजाको क्रममा हेर्दा दानपेटिका फोडिएको अवस्थामा भेटिएको बताएका छन् । खुद्रा बाहेक ठूलो नोटहरु हराएको भेटिएको समितिका अध्यक्ष क्षेष्ठले जानकारी दिए । दान पेटिकाबाट कति रकम चोरी भएको भने एकिन हुन नसकेको व्यवस्थापन समितिले जनाएको छ । दानपेटिका करिब २ महिनादेखि नखोलिएको कारण ठूलो रकम चोरी भएको आनुमान गरिएको छ ।
           दान पेटिकाको पैसा चोरी भएकोमा जिल्ला प्रहरी कार्याल दोलखाका प्रहरी निरिक्षक विनोद सुनुवारले पुष्टी गरेका छन् । भीमेश्वर मन्दिरमा रहेको प्रहरीले रातको १२ बजेसम्म गस्ती गरेको जनाउँदै १२ बजे पछि चोरी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । खोजी तथा अनुसन्धान कार्य अगाडी बढि सकेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरिक्षक सुनुवारले बताए ।

बर्षौ पछि कालिञ्चोकको जग्गा उपभोग समस्या सुल्झियो

डेढ लाख बर्गफिट जमिन भाडामा, प्रति वर्गफिट ७० पैसा कर  

रवीन्द्र गौतम । दोलखा

साउन २७, दोलखा । करिब ५० वर्षदेखि कालिञ्चोकस्थित कुरी खर्कको जग्गा उपभोग बारे भइरहेको विवाद केही दिन अघि सुल्झिएको छ ।
        कालिञ्चोक माई भगवती मन्दिर गुठी व्यवस्थापन समितिले आयोजना गरेको पटक पटकको छलफल र निर्णयले कालिञ्चोकस्थित कुरी खर्कको भुउपभोग समस्या सुल्झाएको हो । गुठी व्यवस्थापन समिति र कुरी खर्कमा बसोबास र व्यवसाय गरिरहेका ४० ओटा घरका प्रतिनिधिहरुको गत साउन १७ गते बसेको संयुक्त बैठकले समस्या सुल्झाएको हो ।
        गुठी व्यवस्थापन समितिको प्रस्तावमा कुरी खर्कमा बसोबास गरिरहेका ४० घरधुरीका भू–उपभोगकर्ताहरुले प्रति वर्गफिट ७० पैसा मासिक भूउपभोग कर तिर्न सहमत भए पछि ५० औं वर्षदेखि चलेको विवाद सुल्झिएको हो । उपभोगकर्ताहरुले गत असारदेखि लागू हुने गरेर सो भूउपभोग कर बुझाउन सहमत भई सम्झौता समेत भैसकेको गुठी व्यवस्थापन समितिका सदस्य सचिव एवम् दोलखा मालपोत कार्यालयका प्रमुख दिपेन्द्र काफ्लेले जानकारी दिए । नापी कार्यालय दोलखा र केन्द्रीय गुठी व्यवस्थापन समितिका सर्भेक्षकसहितको टोलीले गत जेठ २८ गते बुझाएको प्रतिवेदनअनुसार कुरी खर्कमा ४० धुरीले कूल १ लाख ६० हजार ९ सय २१ बर्गफिट भूउपभोग गरेका छन् ।
                समितिको निर्णयअनुसार ५ हजार वर्गफिटभन्दा बढि भूउपभोग गर्नेलाई भने प्रति वर्गफिट मासिक ८० पैसाको दरले भूउपभोग कर लाग्नेछ । कुरी खर्कमा कूल ४० धुरी रहेकोमा २७ धुरीले सम्झौता गरिसकेको र २२ धुरीले गत असारदेखि साउनसम्मको भूउपभोग कर समेत भुक्तानी गरि सकेको सदस्य सचिव काफ्लेले जानकारी दिए । सदस्य सचिव काफ्लेकाअनुसार भूउपभोग वापत बुधबारसम्म रु. १ लाख १५ हजार ४ सय ९८ कर संकलन भएको छ ।
               कालिञ्चोक माई भगवती मन्दिरको भेटी संकलनको लागि समेत न्युनतम रु. ४ लाख तोकी बढाबढबाट भेटी संकलनको लागि टेण्डर समेत आह्वान भैसकेको सदस्य सचिव काफ्लेले जानकारी दिए । साथै मन्दिरमा नियमित नित्य पूजाको लागि पुजारी माग गरिएकोमा बुधबारसम्म ३ जना ब्राम्हणले आवेदन पेश गरिसकेको सदस्य सचिव काफ्लेले जानकारी दिए ।

Wednesday, August 10, 2016

प्रतिवन्धित वन्यजन्तुको छाला र अखेटोपहार तस्करी २ जना दोलखामा पक्राउ

रवीन्द्र गौतम । दोलखा

साउन २६, दोलखा । नेपालको प्रचलित कानुनले प्रतिवन्ध गरेको वन्यजन्तुको छाला र अखेटोपहार तस्कर गरेको आरोपमा दोलखा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ ।
              तामाकोशी बजारमा अबैध रुपमा बन्यजन्तुको छाला र ओखेटोपहार खरिद बिक्री तथा ओसारपसार भई रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त टोलीले मंगलबार बेलुका भीमेश्वर नगरपालिका–६, तामाकोशी बजारबाट २ जनालाई रंगेहात पक्राउ गरेको हो ।
                पक्राउ पर्नेहरुमा शैलुङ्गेश्वर–१, दोलखाका ४१ वर्षिय लालबहादुर विश्वकर्मा र घ्याङसुकाठोकर–४, दोलखाका ४६ बर्षिय रामबहादुर तमाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक विनोद सुनुवारले जानकारी दिए । पक्राउ परेका विश्वकर्मा र तमाङले बोकेको झोलाबाट संरक्षित वन्यजन्तु चरिबाघको छाला २ थान, ध्वाँसे चितुवाको छाला १ थान र सालकको खपटा १ दशमलब ५ सय किलोग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
           
            मंगलबार बेलुका पक्राउ परेका विश्वकर्मा र तमाङलाई थप अनुसन्धान र कारवाहीको लागि जिल्ला वन कार्यालय दोलखामा बुझाइएको प्रहरी निरिक्षक सुनुवारले जानकारी दिए । पक्राउ परेका २ जना, बरामद गरेको बाघ र चितुवाको छाला ३ थान तथा डेढ किलोग्राम सालकको खपटा र सो सम्वन्धि मिसिल प्रहरीले वन कार्यालयलाई बु्झाएको छ ।
           दोलखाका जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले प्रहरीबाट मुद्दा बुझिसकिएको बताएका छन् । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा १ र २ बमोजिम मुद्दा दायर गरिने तयारी गरेको जिल्ला वन अधिकृत भण्डारीले जानकारी दिए । सो ऐनको उपदफा १ बमोजिम ७ प्रकारको वन्यजन्तुको चोरी शिकारी गरी कारोबार गरेमा ५० हजारदेखि १ लाखसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सो ऐनको उपदफा २ बमोजिम ‘यी संरक्षित बाहेक अन्य वन्यजन्तु भएमा’ ४० हजारदेखि ७५ हजारसम्म वा १ देखि १० वर्ष कैद वा दुवै सजाय हुने ऐनले व्यवस्था गरेको छ । नेपालमा २७ प्रकारका वन्यजन्तुलाई ऐनले संरक्षित वन्यजन्तु भनेर परिभाषित गरेको छ ।


Tuesday, August 9, 2016

दुबईमा ३५ नेपाली सेक्युरिटी गार्डको विजोग, उद्धारको लागि दुताबाससँग हारगुहार

 २ कोठामा जर्बजस्ती ४० जनालाई कोचियो 

रवीन्द्र गौतम । दोलखा

साउन २६, दोलखा । संयुक्त राज्य अरबको दुबई राज्यमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका ३५ नेपालीहरुको विजोग भए पछि उद्धारको लागि पहल गर्न नेपाली बदुतावाससँग गुहार गरिएको छ ।
            दुबईस्थित ३५ नेपालीले आफूहरुले ९ महिनादेखि कम्पनी र मेनपावर विच सम्झौता भएको तबल नपाएको भन्दै उद्धारका लागि संयुक्त राज्य अरबको राजधानी अबुधाबीस्थित नेपाली राजदुतावासमा निवेदन दर्ता गराएका हुन् । उनीहरुले १० महिनादेखि दुबईको लिडर सेक्युरिटी सर्भिसमा काम गरिरहेको संयुक्त राज्य अरबको सारजहाँबाट धनपति पाठकले जानकारी दिएका छन् । १० महिनादेखि सम्झौता गरेको रकम नदिएको र हाल आएर खाना खर्च समेत नदिएको पीडित पाठकले जानकारी दिए ।
              काठमाण्डौको हिमारब ओभरसिज र एनसिएफ नेपाल म्यान पावरमार्फत बैदेशिक रोजगारमा गएका उनीहरुले चरम श्रम शोषण भएको बताएका छन् । बैदेशिक रोजगारमा जाँदा २६ दिनको तलब  १ हजार ७ सय ८१ दिराम दिने भन्ने सम्झौता गरिएको भए पनि सम्झौताअनुसारको तलब नपाएको भन्दै दुतावाससँग गुहार मागिएको पीडित पाठकले जानकारी दिए । ३० दिन दैनिक १२ घण्टाको दरले काम गरे तापनि रोजगारदाता कम्पनीले महिनाको २०० र ३०० तबल पाउने गरेको पीडित पाठकले जानकारी दिए ।
             दुबईको लेबर कोर्टमा उजुरी गर्दा कम्पनीले सम्झौता रद्ध गरी जर्वजस्ती नेपाल फर्काउने धम्की दिएको पीडितहरुले बताएका छन् । रोजगारदाता कम्पनीलाई दुबईको लेबरकोर्टमा मुद्धा दायर गरिएको बारे नेपाली दुतावासका श्रम सहचारी हिरा यादवलाई समेत जानकारी गराएको उनीहरु वताएका छन् ।